कन्काई नगरपालिकाको उदाहरणीय कार्य : बृद्धबृद्धाको हुने भो निशुल्क जीवन विमा

सुरूङ्गा झापा / कनकाई नगरपालिकाले असक्क्त र बृद्धबृद्धाको निशुल्क जीवन विमा गर्ने कार्य सुरू गरेको छ ।

नगरपालिकाले सेवा सुरु गरेपछि नगरक्षेत्रका झण्डै ३ हजार जना बिमा सेवाबाट लाभान्वित हुने भएका छन । कनकाई नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले निशुल्क ५० हजारसम्मको जिवन विमा गर्न सुरु गरेको हो ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका १२ जना वृद्धवृद्धालाई यस विमा वापतको रकम प्रदान गर्दै बुधबार विमाको उदघाटन गरेका थिए ।

सरकारले प्रत्येक घरपरिवारको अनिवार्य जिवन विमा गर्न सुरु गरेपछि नगरपालिकाले जेष्ठ नागरिक, पुर्ण अपाङ्ग, एकल महिला, जेष्ठ दलितहरुको विमित रकम नगरपालिकाले नै व्याहोर्ने प्रमुख पोखरेलले बताए ।

यो सेवा पाउनेमा नगरभित्रका २२ सय १३ जना जेष्ठ नागरिक, ९० जना पूर्ण अपाङ्ग, ३९० जना एकल महिला र १२४ जना जेष्ठ दलित गरी जम्मा २ हजार ८ सय १७ जनाले यो सुविधा पाउने नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले जानकारी दिए ।

वृद्धवृद्धा र असक्तहरु आवश्यक रकमको अभावमा रोग पालेर नवसुन भनेर नगरपालिकाले यो सेवा सुरु गरेको नगर प्रमुख पोखरेलले बताए ।
नगरपालिकाले विमाका लागि १७ लाख रुपैँया रकम विनियोजित गरेर यो वर्षदेखि बिमा सेवा सुरु गरेको हो ।

हरेक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिर्दै जाने समेत नगरप्रमुख पोखरेलले बताए ।