कविता ‘पहिरन फेरिए पछि’

 

कृष्णप्रसाद पाठक /श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।

                 पहिरन फेरिए पछि

तिमी जस्तै मलाइ पनि, हाँस्न मन लाग्छ
छमछमी पाउजु बजाउदै, नाच्न मन लाग्छ

हिजो खुशी छाएको थियो, आज कता गयो ?
सिंन्दुर पोते चुरा सबै, उस्कै पेवा भयो ।

धेरै गर्नु थियो जिवनमा, दुनिया जित्नु थियो
समयले छल गरि, कस्तो झापड दियो

बाँचु अब कस्को लागि, मरौं कस्का लागि
जिन्दगी नै वर्वाद भयो, कहाँ जाउँ भागि ।

बज्र जहाँ पर्यो चोट, त्येहीँ लाग्दो रहेछ
हेर्दाहेर्दै रंगिन दुनिया, सेताम्य नै भएछ

रुनलाई आँशु छैन, हाँसु मनले मान्दैन
डाकुँ कसैलाई तन दिन, यो समाजले दिदैन ।

तिम्रो खुशी देख्दा मलाइ, औधि डाह लाग्छ
सपना विपना एकै भो, खाली यो मन काप्छ

बोलाउँदा सुन्दैन हेर्छु, कहिँ कतै देखिदैन
वेहोसी मै छाम्छु उस्लाई, कहिँ भेटिदैन ।

यस्तो दिन कसैको नि, देख्नु नपरोस
ज्युने रहर हुँदाहुँदै ,खुशी कसैको नझरोस

साथ छुट्दा कस्तो हुन्छ ,मैले भोगेकीछु
सङ्लो दुनिया धमिलो भाको, मैले देखेकीछु ।