झापामा प्रदेश स्तरीय ‘मिस एसईई प्रोविन्स वान’ को तयारी

विर्तामोड / कक्षा १० को माध्यमिक परिक्षा (एसईई) दिएर बसेका किशोरीको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले झापामा ‘मिस एसईई’ प्रतियोगिता हुने भएको छ ।

मिस एसईईको यो तेस्रो संस्करण हो । यस अघि मिस एसईई झापाको नामबाट प्रतियोगिता सञ्चालन भईरहेको थियो ।

देश संघीय संरचनामा गएपछि प्रतियोगितालाई प्रदेश स्तरीय बनाउदै आयोजकले ‘मिस एसईई प्रोविन्स वान’ को नामबाट सञ्चालन गर्न लागेको हो ।

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको ब्यानरमा प्रतियोगिता सञ्चालन हुने छ ।

कक्षा १० अथवा एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता अभिबृद्धी गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

यस बर्षदेखि झापासँगै प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका किशोरीहरुले प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिको छनौट झापाको बिर्तामोड, दमक, इलाम, सुनसरीको धरान र मोरंगको बिराटनगरमा हुने छ ।

छनौटमा परेका किशोरीहरुलाई करिव डेढ महिना बन्द सत्रमा राखी प्रशिक्षण दिइने ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक पुडासैनीले बताए ।

यस बर्ष प्रतियोगिताको अफिसियल कोरियोग्राफरको रुपमा हाल सञ्चालन भईरहेको नेपालकै सबै भन्दा ठूलो शौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ मा सहभागी एलिसा अधिकारी रहने पुडासैनीले जानकारी दिए ।