उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार पत्रकार सिग्देललाई उत्कृष्ट सञ्चार संस्थाको रुपमा सूर्योदय टेलिभजन पुरस्कृत

बिर्तामोड / यस वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देललाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५ हजार पाँचसय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

पुरस्कृत पत्रकार सिग्देल अढाई दशकदेखि झापामा रहेर सक्रिय पत्रकारिता साथै लेखन क्षेत्रमा अग्रणी भूमिका खेल्दै आइरहेका छन् ।

त्यसैगरी उत्कृष्ट सञ्चार संस्थाको पुरस्कार बिर्तामोडमा सञ्चालित सूर्योदय टेलिभजनलाई प्रदान गरिएको छ । संस्थालाई पनि पाँच हजार पाँच सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

टेलिभिजनको पुरस्कार प्रवन्ध निर्देशक विष्णु उप्रेती मैनालीले ग्रहण गरिन । सूर्योदय टेलिभिजन २ वर्षअघिदेखि बिर्तामोडबाट प्रशारित छ ।

उनीहरुलाई प्रमुख अतिथि प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । पत्रकार सिग्देल र सूर्योदय टेलिभिजनलाई ६१ औं सहकारी दिवसको अवसरमा पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा दर्जनबढी सहकारीकर्मी र सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो ।

यस वर्षको उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा नरेन्द्रकुमार शेर्मा निम्बू, देवी निरौला वस्नेत र कमल काफ्लेलाई सम्मान गरियो ।

उत्कृष्ट सहकारी व्यवस्थापकका रुपमा राष्ट्रसेवक सहकारी संस्था झापाका व्यवस्थापक अनुज खतिवडा, नीलकण्ठ निरौला र गीता निरौलालाई नगदसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट सहकारी संस्थाको रुपमा पतालगंगा बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, महालक्ष्मी कृषि सहकारी संस्था मेचीनगर, पृथ्वी वचत तथा ऋण सहकारी संस्था कनकाई ,एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारी, साना किसान महिला कृषि सहकारी संस्था बैगुनधुरा र युनिक बचत तथा ऋण सहकारी संस्था दमकलाई सम्मान गरिएको थियो ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार झापामा मनाइएको हो ।

झापा जिल्ला सहकारी संघ, डिभिजन सहकारी कार्यालय झापा, बचत तथा ऋण सहकारी केन्द्रीय संघ, केन्द्रीय सुपारी संघ, साना किसान विकास बैंक तथा राष्ट्रिय सहकारी बैंकले संयुक्त रुपमा भव्य समारोहको आयोजना गरेका थिए ।

समारोहको अध्यक्षता झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए भने उद्घाटन प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गरेका थिए ।