प्रधानमन्त्री ओली भारत प्रस्थान

राष्ट्रिय समाचार

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकाे ३ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

 शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।

प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन्।

ओली भ्रमण सकेर आइतबार स्वदेश फर्कने छन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरेको थियो। कान्तिपुर