स्थानीय तहमा हस्तान्तरण हुँदै झापाका सहकारी

गोपाल काफ्ले-

झापा / डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ वटा प्रारम्भिक सहकारी संस्थाहरुका अभिलेख जिल्लाका १५ वटा स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समिति भद्रपुरको सभाकक्षमा आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत् गाउँपालिका तथा नगरपालिकालाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी, सहकारी विभागका उपसचिवसहितको सहभागितामा आयोजित कार्यक्रममार्फत् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा १५ वटै तहका प्रायः सबै प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो । जिसस प्रमुख पोर्तेलले हरेक स्थानीय तहका तीनैजनाको उपस्थितिमा अभिलेख हस्तान्तरण गरेका हुन् ।

डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्थानीय तहमा अभिलेख हस्तान्तरण गरिने सहकारी संस्थाको विवरण सुनाएका थिए ।

उनले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधान अनुसार यही चैत महिनाभरमात्र डिभिजन सहकारी कार्यालयहरु अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी विभागका उपसचिव बलराम निरौला, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी तथा जिल्ला संघका सचिव युवराज ढकालले आ–आफ्ना धारणा राखेका थिए ।

सहकारी निरीक्षक डिल्ली दाहालले सञ्चालन गरेको कार्यक्रमको दोस्रो सत्रमा सहकारी विभागका उपसचिव बलराम निरौलाले स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुलाई सहकारीबारे अभिमुखीकरण गरेका थिए , साझामञ्च डटकममा खबर छ ।