‘पचहत्तर साल विकास र समृद्धिको वर्षको रुपमा मनाउनुपर्छ’ उपराष्ट्रपति पुन

आर्थिक समाचार कृषि पर्यटन प्रदेश समाचार

इलाम / उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्षका रुपमा मनाउनु पर्ने बताएका छन् ।

इलाम सदरमुकामा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचन वर्षको रुपमा विदाई गर्दै ०७५ मा देश आर्थिक समृद्धिको दिसामा अघि बढ्नु पर्नेमा जोड दिए ।

उद्घाटनका अवसरमा उपराष्ट्रपति पुनले देश संविधान कार्यान्वयन गर्दै समृद्धिको दिसातर्फ अघि बढेको पनि बताए ।

नयाँवर्षको सुरुवातमै पूर्वी जिल्ला इलाम आएका उपराष्ट्रपति पुनले विभिदतायुक्त जिल्ला इलामले विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने आसा व्यक्त गरे ।

‘समृद्धिको लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्दछ ।’ उपराष्ट्रपति पुनले इलाम राजनीतिक परिवर्तनमा विशेष योगदान गर्ने जिल्ला रहेको बताए ।
त्यस्तै, प्रदेश नम्बर १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रम उद्घाटनका अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीसहितको र्यालीले इलाम बजार परिक्रमा गरिएको थियो । त्यस अवसरमा इलामका नागरिक युद्धप्रसाद वैद्यलाई विशिष्ट नागरिकको सम्मान गर्दै रथारोहण समेत गरिएको थियो ।