प्रमद्वारा हिल्सा नाका अवलोकन , सरकारको प्राथमिकता भष्ट्राचारमा शून्य सहनशीलता

पत्रपत्रिका

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार हुम्लाको हिल्सा नाका र लिमी लाप्चा नाकाको हेलिकोप्टरबाट अवलोकन गरेका छन् । रारा पर्यटन महोत्सवको उद्घाटनका लागि रारा आएका प्रम ओली शनिबार सिमकोटस्थित विमानस्थलबाटै हुम्लीलाई नयाँ वर्षको शुभकामना दिँदै हुम्ला जिल्लाको विकासका लागि आफ दृढ संकल्पसाथ अघि बढ्ने बताए ।

हवाई मैदान विस्तार, खेल मैदान निर्माण, शिक्षा, स्वास्थ्यलगायत सबै पक्षको विकासका लागि तीव्र गतिमा  हुम्लालाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले भने, ‘१ वैशाख २०७५ बाटै कर्णालीको पर्यटन वर्ष सुरु भएको र अब हरेक वर्ष कर्णालीमा पर्यटनसम्बन्धी कार्यक्रमहरू हुनेछन् ।’ सो कामका लागि रक्षामन्त्री, पर्यटनमन्त्री लगायतको सहभागिता आफ्नो टोलीमा रहेको उनले स्पष्ट पारे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफू पनि भष्ट्राचार नगर्ने अरूलाई पनि भष्ट्राचार गर्न नदिने भन्दै सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको आधारमा अगाडि बढेको बताए । हुम्लालाई अनुकरणीय रूपले विकास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री गरे ।

भौगोलिक विकटता, प्राकुतिक सुन्दरता, जैविक विविधताले भरिपूर्ण हुम्लाको विकासका लागि चीनसँग सडक सञ्जाल जोड्ने बताउँदै अब देशभित्रको सडक सञ्जालमा जोडिन सबैको सहयोगमा सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले बताए ।

‘हुम्लामा सडकलगायतका विकासका लागि सरकारले कुनै पनि कसुर बाँकी नराखी काम गर्नेेछ,’ प्रधानमन्त्री ओलीले भने । भौगोलिक रूपमा विकट भए पनि भूगोलको आफ्नै महŒव र विशेषता हुने भएकाले हुम्ला जडीबुटीको खानी रहेको स्पष्ट पार्दै यसको संरक्षणतर्फ सबै स्थानीयवासी सक्रिय हुनुपर्ने र सरकारले सोहीअनुसार विशेष कार्यक्रम ल्याउने प्रम ओलीको भनाइ थियो । अब जनताले व्यावसायिक रूपमा अग्र्यानिक खेती गर्नुपर्ने आग्रह गर्दै सरकारले पनि सो काममा सहयोग गर्ने उनले बताए ।

हुम्ला विमानस्थलमा आयोजित कार्यक्रमा जिल्लाको सडक, खेल मैदान, अस्पतालको स्तरोन्नतिलगायतको माग समेटिएको मागपत्र जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

हुम्लीका तर्फबाट दिइएको सो मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘राखिएका सबै माग प्राथमिकताका आधारमा सम्बोधन गर्न आफू लाग्ने आश्वासन दिन्छु ।’

सो अवसरमा हुम्लामा पाइने जडीबुटी पाँचआंैलेलगायतका बहुमूल्य जडीबुटीको भण्डारसमेत भएकाले स्वदेशमै यसको स्थायी उत्पादन, प्रशोधन र खेती गर्न सके यस जिल्लाको जनजीवनमा निकै सुधार आउने हुँदा हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती (स्याउ र ओखर) गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । बहुआयामिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तरमाथि उठाउन सकिने उनको भनाइ छ ।

 जिल्लाको भौगालिक विकटताको कारणले सरकारले चाहेर पनि विकास गर्न नसक्ने भए पनि अबको सरकार विकट जिल्लाको विकासका लागि कार्य गर्ने र विकास गरेरै छाड्ने बताए ।

प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् र सहज रूपले उपचारको सुविधा पाओस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलिप्याड व्यवस्था गरिने र अस्पतालको स्तरोन्नतितर्र्फ आफ्नो ध्यान जाने बताए ।

जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले हिल्स–सिमकोट सडक निर्माण, लिमी–लाप्चा सडक निर्माण, कर्णाली कोरिडोरका विभिन्न गौडा फोर्ने १५ शøयाको अस्पतालको स्तरोन्नति गरी २५ शøया बनाउने, अधुरो खेल मैदानका लागि जग्गा खरिद र निर्माण कार्य सम्पन्न गर्नेलगायतका १४ बुँदे माग राख्दै सो कार्यका लागि विकास बजेट विनियोजन गरिदिन माग गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दल रावत र प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा सहभागी थिए । राजधानी दैनिकमा खबर छ ।