बाढी पीडितलाई अभियान नेपालको सहयोग, काँक्रा र खर्बुजा बेचेरै लाखौं आम्दानी

गोपिन पोखरेल-

सिमलबाढी झापा /  झापा गाँउपालिका–७ का पर्शुराम चौधरीको अहिले दैनिकी फेरिएको छ । उनी अहिले दैनिक काँक्रा र तरकारी बेच्न व्यस्त छन् ।

करिब १ विगाहा क्षेत्रफलमा लगाएको काँक्रा, भिण्डी, बोडी र खर्बुजाको स्याहार र विक्रीमा उनको दैनिकी बित्ने गरेको छ । चौधरीले काँक्रा र तरकारी बेचेर मनग्ये आम्दानी गर्दै आएका छन् । उनको यो व्यस्तता र आम्दानीको श्रोत त्यसै बढेको होइन ।

अभियान नेपाल र कारितास नेपालको झापाका बाढी प्रभावित समुदायलाई आय आर्जनका लागि तरकारी खेतीमा विउ विजन प्रदान गर्ने कार्यक्रमले पर्शुरामको दैनिकी फेरिएको हो ।

‘पहिला हामी देउता खोज्दै जान्थ्यौ तर, अहिले देउताले हामीलाई खोज्दै आएको छ’– अभियान नेपाललाई देउतै आएको बताउने ४५ वर्षीय चौधरीले भने, ‘उहाँहरुले बाढी पीडितलाई के चाहिन्छ भनेर सोध्नु भो अनि मैले भने, यो बेलामा काँक्रा, खर्बुजा र तरकारीको वीउ दिनु भयो भने हामीलाई हुन्छ । हामीले पहिले देखि गरि आको पनि छ, भनेपछि उहाँहरुले काँक्रा, खर्बुजा र तरकारीको बिउ दिनु भो ।’

‘बाढीले बगाएपछि यसपालि धान पनि राम्रो भएन हामीसँग बिउ किन्ने पैसा पनि थिएन । उहाँहरु हाम्रो लागि देउता बनेर आउनु भो । उहाँहरुको सहयोगले तरकारी खेती गरेको छु ।’

चौधरीले कन्काई नगरपालिकाका एक व्यक्तिको जग्गा भाडामा लिएर काँक्रा, खर्बुजा र तरकारी खेती गर्दै आएका छन् ।

सिजनमा काँक्रा र खर्बुजा बेचेर उनले ५० हजारदेखि लाख रुपैयासम्म आम्दानी लिने गर्छन । धान रोपे पनि बाढीले पुरिदिन्छ खानै पुग्दैन चौधरीले भने– ‘फेरी साहुलाई पनि दिनै पर्यो । यही काँक्रा र तरकारीले हाम्रो गुजारा चलेको छ ।’

काँक्राले रोपेको ६० दिनदेखि आम्दानी दिन थाल्छ, उनले भने खर्बुजा पाक्न ४ महिना जति लाग्छ । फलफुल र तरकारीको आम्दानीले उनी ९ जनाको परिवार पाल्दै आएका छन् ।

यसकै आम्दानीले उनले बर्षायाममा धान उत्पादन नहँदा काडेको साहुको ऋण पनि तिर्दै आएका छन् । ‘काँक्रा खर्बुजा बेचेरै हो नी नानीहरु पढाउने र साहुलाई चित्त बुझाएर पन्छाउने ।’ तिर्ने, फेरी ऋण माग्ने चौधरीले हाँस्तै भने ।

कन्काई नदीमा बर्षेनी आउने बाढीले आफ्नो गरिखाने खेतमा बालुवा भरिदिएपछि त्यहाँबाट विस्थापित हुनुको विकल्प थिएन चौधरीसँग । उनको लागि यो समस्या बर्षेनीको हो । तर, अभियान नेपालको सहयोगले उनीहरुको मुहारमा खुसी भरिदिएको छ ।

झापा गाँउपालिकाको वडा नं ७ सिमलबाढी पश्चिमका बासिन्दा बर्षेनी कन्काइ नदीमा आउने बाढीले पीडित छन् । पीडितमध्येका पर्शुराम एक प्रतिनिधी पात्र हुन् । उनी जस्ता ३० औं घरपरिवार यही समस्याबाट त्रसित छन् ।

अभियान नेपाल र कारितास नेपालले बाढी प्रभावितहरुका लागि ‘प्रतिकार्य एवम् पुर्नलाभ परियोजना’ (डिडिआर) अन्तर्गत सहयोग गर्दै आएको छ ।

अभियान नेपाल र कारितासले बाढी प्रभावितलाई बीउ विजन उपलव्ध गराउनुका साथै बालिमा लाग्ने रोग किरा नियन्त्रणका लागि औषधी उपचार बाली उपचार शिविर मार्फत सहयोग गर्दै आएको छ ।