सुनचाँदी व्यवसायी साजनको हत्यामा संलग्न थप दुई आरोपी पक्राउ

विर्तामोड / विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा थप २ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ हवी स्वीमिङ पुल छेउ घर भई जात्रुवाडी चोकमा डेरा गरी बस्ने २१ वर्षीय मामा भन्ने सुजन चौधरी र विर्तामोड नगरपालिका-३ पुण्डरी चोक बस्ने २२ वर्षीय राहुल/राज साह भन्ने राजेश साह रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मुखियाको हत्यामा संलग्न ६ जना अभियुक्तमध्ये दुई जनालाई पक्राउ गरी पछिल्लो पटक मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार मुखिया हत्या प्रकरणका संलग्न सबैजना पक्राउ परिसकेका छन् ।

राजेश साह चैत ३० गते सुनसरी प्रहरीको सहयोगमा सुनसरीको भण्टाबारीबाट र सुजन चौधरी बैसाख १ गते विर्तामोडको जात्रुबाडी चोकबाट पक्राउ परेका हुन ।

अभियुक्त दुबै जना साजन मुखियाको हत्यामा प्रत्यक्ष संलग्न भएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुले मुखियाको हत्याका लागि १० लाख रुपैयाँ लिएको पुष्टि भएको प्रनाउ कोइरालाले बताए ।

विर्तामोडका सुनचाँदी व्यवसायी २६ वर्षीय साजन मुखियाको गत फागुन २० गते हत्यापछि बोरामा पोको पारी फालिएको अवस्थामा इलामको रोङ गाँउपालिकाको भिरमा शव भेटिएको थियो । फागुन २० गते हत्या गरिएका मुखियाको शव ९ दिन पछि प्रहरीले फेला पारेको थियो ।

मुखियाको हत्या हुनुमा व्यापारिक प्रतिष्पर्धा मुख्य कारण रहेको विर्तामोड प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव सहित दिपेश पौडेल, प्रकाश भन्ने चिरञ्जीवी ओली र प्रमोद विश्वकर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सोही घटनामा संलग्न मध्येका दुई साह र चौधरी पछिल्लो पटक पक्राउ परेका हुन् । पक्राउ परेका सबै आरोपी उपर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र चाँडै अदालत पेश गरिने प्रहरीले जनाएको छ ।