सर्वाधिक राशिको ‘दमक गोल्डकप’ को तयारी तीव्र गोल्डकप वैशाख १९ गतेदेखि २८ गतेसम्म हुने

दमक/  झापाको दमकमा हुन लागेको नेपालकै सर्वाधिक राशिको दमक गोल्डकपको तयारी तीव्र पारिएको छ । यही वैशाख १९ गतेदेखि २८ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न आवश्यक सबै तयारी तीव्र पारिएको हो ।

गोल्डकपको तयारी स्वरुप खेल मैदानमा धमाधम प्याराफिट निर्माण भइरहेको आयोजक दमक नगर खेलकुद विकास समितिका संयोजक केन्द्र प्रसाईंले जानकारी दिए ।

उनले खेलमैदानको व्यवस्थापनसँगै अतिथि, टिमको आवश्यक व्यवस्थापन गर्ने कार्य धमाधम भइरहेको बताएका छन् । दर्शकका लागि निर्माणाधीन प्याराफिटको क्षमता करिब ३ हजारभन्दा बढी रहने बताइएको छ ।

उनका अनुसार गोल्डकप सम्पन्न गर्न विभिन्न आधा दर्जनभन्दा बढी उपसमितिहरु गठन गरी काम थालिएको छ ।

जसअनुसार खेल संयोजकमा भीमराज केसी, प्रचार संयोजकमा चन्द्र खत्री, टिम व्यवस्थापनमा शैलेन्द्र श्रेष्ठ, स्टेज व्यवस्थापन संयोजकमा मोहन मगर, ग्राउन्ड संयोजकमा भाइचुङ लिम्बु, स्वास्थ्य संयोजकमा गंगा ढकाल, सुरक्षा स्वयम्सेवक व्यवस्थापनमा गुमानसिंह तामाङ, पाहुना खेलाडी आतिथ्यता संयोजकमा दिपक धिमाललाई जिम्मेवारी दिइएको छ ।

स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेतालाई नगद १३ लाख ५१ हजार र उपविजेताले नगद ६ लाखसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ३६ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा झापा ११, मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, थ्री स्टार, सरस्वती क्लब, कोलकता भारतसहित आयोजकको टिम सहभागी हुने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको नगर खेलकुद समितिका संयोजक प्रसाईंले जानकारी दिए ।

प्रचार संयोजक खत्रीका अनुसार खेलमैदानमा प्याराफिट निर्माणका बारेमा जिल्लाका फुटबलसहितका सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्ने काम भइरहेका छन् ।

यसैबीच, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), झापा–११ का अध्यक्ष जेके गुरुङलगायतले खेलमैदानको स्थलगत अनुगमन गरेको संयोजक खत्रीले बताए ।