पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सुरु

आर्थिक समाचार राष्ट्रिय समाचार

निजगढ / मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम मंगलबारदेखि सुरु भएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको सिमरादेखि पाइपलाइन बिछ्याउन सुरु भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी विजय मानन्धरले शिलान्यास गरेपछि पाइपलाइन बिछ्याउने काम अपराह्नदेखि सुरु गरिएको हो । पाइपलाइनको गत चैत अन्तिम साता प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा संयुक्त शिलान्यास गरेका थिए ।
२ सय ७५ करोड भारतीय रुपैयाँ लागतमा निर्माण सुरु भएको परियोजनामा २ सय करोड भारत सरकार र ७५ करोड नेपाल सरकारको लगानी रहेको परियोजना म्यानेजर प्रदीप यादवले बताए । ‘१५ महिनामा सकिने लक्ष्य रहेकोमा ३ महिना सकिइसकेको छ,’ उनले भने, ‘अबको एक वर्षमा काम सकेर पाइपलाइनबाट तेल भित्र्याइसक्नुपर्ने लक्ष्य लिएर काम गरिरहेका छौं ।’ बाराको जितपुर, परवानीपुर, सीमादेखि १ किलोमिटर र वन क्षेत्रमा समस्या भएको उनले बताए । उनले पहिलो लटमा डिजेलमात्र ल्याउने योजना रहेको पनि जानकारी दिए । पाइपलाइनबाट भित्रिएको इन्धन छुट्टै भण्डारण गरिने जनाइएको छ ।
भारत महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चर प्रालिले ठेक्का लिई पाईपलाईन बिछ्याउने काम गरिरहेको परियोजनाका मेकानिकल इन्जिनियर पाइपलाइन विज्ञ शरदप्रसाद पौडेलले बताए । उनका अनुसार करिब ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । भारतीय सीमादेखि अमलेखगन्जसम्मको नेपाली भूभागमा पाइपलाइनको लम्बाइ ३६ दशमलव २ किलोमिटर पर्छ । भारततर्फ मोतिहारीबाट र नेपालतर्फ सिमराबाट पाईप बिछ्याउन सुरु भएको उनले बताए ।
पाइपलाइन बिछ्याउने कामको शिलान्यास गर्दै प्रमुख जिल्ला अधिकारी विजय मानन्धरले यो कार्य नेपालका लागि सुखद कुरा भएको बताए । ‘यो आयल निगमको लाइफलाइनको प्रोजेक्ट हो,’ उनले भने, ‘यसले वातावरण संरक्षणमा पनि मद्दत पुर्‍याउँछ ।’ पाइपलाइनमार्फत प्रतिघण्टा २ लाख लिटर इन्धन भित्रने निगमले जनाएको छ । निगमले अमलेखगन्जस्थित डिपोका चारवटा ट्यांकीको स्तरोन्नतिको काम पनि गरिरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ ,कान्तिपुर दैनिकमा खबर छ ।
तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षअघि उक्त पाइपलाइन निर्माणसम्बन्धी सम्झौता गरेका थिए । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नुका साथै चुहावट पनि नियन्त्रणमा आउने निगमको भनाइ छ ।