अभियान नेपालको सहयोगमा अस्थायी बाँध निर्माण, जोगाउन सक्ला त गाँउपालिकाले ?

आर्थिक समाचार कृषि समाचार समाज स्थानीय

गोपिन पोखरेल-

सडकबारी झापा / झापा गाँउपालिका वडा नं-२, स्थित सडकबारीमा बाढीको कटान रोक्न ३०० मिटर अस्थायी बाँध बाँध्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

विरङ र कन्काई नदीको बाढीले त्यस क्षेत्रमा कटान गर्दै अत्याधिक क्षति पुर्याएपछि बाढीको प्रभाव रोक्न अस्थायी बाँध बाँधिएको हो ।

गत साउन २८ गते कन्काइ र विरिङ नदीमा अविरल वर्षासँगै आएको बाढीले हजारौं बिगाहा खेती योग्य जमिन बालुवामा परिणत हुनुका साथै सयौं घरपरिवार विस्थापित भएका थिए । सो क्षेत्र कन्काई माईको पूर्व र विरिङ नदीको पश्चिम मध्य भागमा पर्छ ।

साउन २८ गतेको बाढीमा परी सडकबारीका १० जना स्थानीयले ज्यान समेत गुमाएका थिए । यो साल पनि बाढीको प्रभाव हुन सक्ने भएकोले कटान रोकी र संभावित क्षति कम गर्न अस्थायी बाँध बाँधिएको अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले बताए ।

बाँधको निरिक्षण गर्दै अभियान नेपालका प्रतिनिधी, वडाध्यक्ष र स्थानीयहरु


बाढीबाट प्रभावित सडकबारी क्षेत्रमा अभियान नेपाल र कातितास नेपालको सहयोगमा १०० भन्दाबढी घर परिवारको सुरक्षाका ३०० मिटर लामो अस्थायी बाँध बाध्ने कार्य भइरहेको छ ।

अभियान नेपालको ४ लाख १० हजार रुपैया र जनताको तटबन्धन गैंडेले प्रदान गरेको ८ हजार थान प्लास्टिकको बोरा र सय थान तार जालीको मद्यतले बाँध बाँध्ने कार्य भइरहेको छ । सोमबार अभियान नेपालको टोलीले निर्माणाधिन बाँधको कार्य प्रगतिबारे निरिक्षण अनुगमन गरेको थियो ।

निरिक्षणका क्रममा बाँधको ६० प्रतिशत काम सम्पन्न भएको र ४० प्रतिशत कार्य बाँकी रहेको अभियान नेपालका सहजकर्ता केशव खनालले बताए ।

अवलोकनका क्रममा झापा गाँउपालिका २ का वडाध्यक्ष नेत्र खड्का तटबन्ध निर्माण समितिका अध्यक्ष धनबहादुर थेबे समितिका सदस्यलगायत स्थानीयको उपस्थिति थियो ।

सो अवसरमा वडाध्यक्ष खड्काले अभियान नेपालले गरेको सहयोगले वडा नं २ स्थित सडकबारीको बस्ती संरक्षणमा ठूलो मद्यत पुगेको बताए ।

खड्काले आगामी दिनमा अभियान नेपालसँगको सहकार्यमा बाढी प्रभावितहरुको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले अभियान नेपालले सडकबारीका जनताको सुरक्षाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै बाँधलाई जोगाई राख्न ठूलो चुनौती रहेको बताए ।

सडकबारी तटिय क्षेत्रमा बस्ने १०० घर परिवार गत साउनमा आएको बाढीले पूर्णरुपमा विस्थापित बनेको वडाध्यक्ष खडेकाले बताए । सो क्षेत्रमा वडा कार्यालयले बाँध बाँध्ने कार्यका लागि ५ लाख रुपैया छुट्याए पनि अभियान नेपालसँग समन्वय नगरी छुट्टै काम गरेका कारण प्रभावकारी काम हुन सकेको छैन ।

अभियान नेपालको सहयोगमा निर्माण भइरहेको सो बाँध ‘सानो माई साना तटबन्ध’ अन्तर्गत ‘साना अल्पीकरण र मानवीय श्रम कामका लागि नगद’ परियोजना अन्तर्गत निर्माण गरिएको अभियान नेपालले जनाएको छ ।

सो बाँध निर्माण सम्पन्नपछि सडकबारी क्षेत्रका १३५ महिला, १५३ पुरुष गरी २८८ जना स्थानीयवासी सुरक्षित हुनेछन् । चैत २७ गतेदेखि सुरु भएको बाँध निर्माण कार्य बैसाख १० गते सम्पन्न हुनेछ ।

बाँध निर्माणमा ८ दिनदेखि १६० जना भन्दा बढीले दैनिक काम गर्दै आइरहेका छन् । जेसिभीको मद्यतले ड्याम उठाउदै स्थानीयले बोरामा बालुवा भर्ने काम गर्दै आएका छन् ।

दैनिक काम गरेबापत ‘कामका लागि नगद’ अन्तर्गत स्थानीयलाई ५०० रुपैयाँ ज्याला दिंदै आएको अभियान नेपालका सहजकर्ता केशव खनालले बताए ।