बैदिक सनातन धर्मको विचलन रोक्न धर्मान्तरण निस्तेज आवश्यक

विर्तामोड / झापाको विर्तामोडमा आयोजित गुरु पुरोहितहरुको एक भेलाले बैदिक सनातन धर्ममा आएको विचलन र जबरजस्ती भइरहेको धर्मान्तरण निस्तेज पार्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भेलाले बैदिक सनातन धर्मममा देखिएको विचलनलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिंदै त्यसका कारण गुरु–पुरोहितहरु एक हुन जरुरी रहेकोमा जोड दिएका थिए ।

आचार्य लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भेलाले बैदिक सनातन धर्म संरक्षक समिति समेत गठन गरेको छ ।
आचार्य लक्ष्मीप्रसाद खतिवडा संयोजक रहेको समितिमा प्रत्येक स्थानीय तहबाट १/१ जना उपसंयोजक रहने गरी समिति गठन गरिएको संयोजक खतिवडाले जानकारी दिए ।

२१ सदस्यीय समितिको उपसंयोजकमा कमल गाउँपालिकाका दुर्गाप्रसाद खतिवडा, दमकबाट उदय दाहाल मेचीनगरबाट शंकर अधिकारी, बुद्धशान्तिबाट यादव पौडेल, भद्रपुरबाट हेमन्त पौडेल, विर्तामोडबाट मित्र भट्टराई, कन्काईबाट याम खतिवडा, बाह्रदशीबाट खगेन्द्र निरौला, कचनकवलबाट रघुनाथ अर्याल रहेका छन ।

भेलाले झापाको भद्रपुरस्थित श्री कृष्ण द्वैपायन विद्यालयमा पढ्न नपाएको भन्दै लगाइएको ताला तत्काल खोल्न आग्रह पनि गरेको छ ।
धर्मले कसैलाई पनि विभेद नगरेको तर राज्यले आरक्षण दिएर तथाकथित दलितका नामले अपमान गरेको प्रति चिन्ता व्यक्त गर्दै राज्यबाटै दलित शब्द नपन्छाएसम्म अन्य समुदायसंगको विभेदको खाडल नपुरिने ठहर गर्दै संविधानबाटै दलित शब्द हटाएर आउन भेलाले सुझाव समेत दिएको छ ।

साथै निजी स्रोतबाट सञ्चालित गुरुकूलमा तालाबन्दी गरेर पठन–पाठन अवरुद्ध पारेको प्रति आपत्ति जनाउँदै भेलाले समस्या वार्ताका माध्यमबाट समाधानका गर्न आग्रह पनि गरेको छ ।