‘गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कञ्चनगढ धाम साधुकुटी’ बारदशीको ऐतिहासिक पृष्ठभूमि र परिचय

गोपिन पोखरेल-

ऐतिहासिक पृष्ठभूमी–

द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ति छ । यो स्थानको अन्य ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ ।

प्राचिन कालमा यो ठाँउमा सलेश राजाको दरवार थियो । सलेश राजाकी एउटी छोरी थिइन । छोरीको नाम कञ्चनकुमारी राखेको थियो । कञ्चनकुमारी बत्तीस लक्षणलेयुक्त भएको कारण किच्चक वंशको एक चुहरमल नामक राजकुमारले अपहरण गरेर लाने विचार गर्यो । यस्ती सुन्दरी नारीलाई पृथिवी मार्गबाट लैजाँदा म भन्दा बलवान राक्षसहरुले खोस्लान भन्ने आसंकामा परेका चुहरमल राजकुमारले जमिन मुनी सुरुङ मार्ग बनाई हरण गरी लाँदा विहारको पटना छेउमा निकालेछन ।

यो बाह्रदशी क्षेत्रबाटै सुरुङ खनी कञ्चनलाई लगेको हुँदा आज यो ठाँउको नाम ‘कञ्चनगढ’ भनिएको छ । अर्को आधारमा भन्ने हो भने सलेश राजाकी छोरी कञ्चन सारै सुन्दरी भएको कारण अपहरणकारीले लैजान्छन् की भन्ने आशंकाले यही स्थलमा एउटा खाडल बनाएर राखेको हुँदा तत्कालिन भाषामा ‘गढ’ भनेको खाडल यो दुबै शव्द जोड्दा कञ्चनगढ अर्थात कञ्चनकुमारी बसेको खाडल हो भन्ने गरिएको छ ।

हालसालै सम्म यो सुरुङ छँदै थियो । शिवरात्री पर्वमा यहाँ मेला लाग्ने गथ्र्यो । यो मेला भर्न भारतको बिहारबाट आएका यात्रीहरुले मावल आएको भन्ने गर्थे । कञ्चनलाई लगेको गहिरो खाडललाई देख्दा तत्कालिन भाषामा कञ्चनगढ भनिएको हो भन्ने किंवदन्ती रही आएको छ ।
१९९३ सालमा जंगबहादर राणाका कान्छा भाई धीर शम्शेर राणाका छोरा चन्द्र शम्शेरकी एकमात्र छोरी रैती परिवारका नेत्रजंग थापालाई दिएपछि आफु अनुसारको दाइजो दिनै पर्ने भएकाले झापा जिल्ला वा दश मौजाको जिम्मेवारी वा ५/७ वटा कामतहरु आफ्ना ज्वाई छोरीलाई दाईजो दिई कर्णेलपदबाट विभुषित गर्दै पठाउँदा कर्णेल नेत्रजंग थापाले यही बारदशी कञ्चनगढ ढीप तराइको पहाड छनोट गरी तहशिल अड्डा थाना स्थापना गरी बसे ।

सो समयमा सर्पले दिनमा रातमा मात्र नभई सपनामा पनि दुःख थालेपछि कर्णेल नेत्रजंगले तान्त्रिक साधुलाई सोधपुछ गर्दा यो ठाँउ शिवजीको बासस्थान हो । सर्प शिवजीको प्रतिक हुन त्यसैले यहाँ शिवजीको पुजा अर्चना गर्नुपर्छ भनेपछि त्यसबेला बहुमुल्य पत्थरको शिवमुर्ति र नन्दी स्थापना गरी शिव पाञ्चायन पुजन गर्न शुरु गरेको पाइन्छ ।

जुन मुर्तिहरु २०३६ सालसम्म देखिन्थे । त्यस्तै, नेत्रजंगकी श्रीमतीले म यस स्थानमा शिवजीको प्रतिकको रुपमा एउटा बटबृक्ष रोप्छु भनेपछि सबैको सल्लाहमा सुनको थालीमा वरको बिरुवा सहित पूजाको सामाग्रीद्धारा भूमीपुजन गरी बरको विरुवा रोपिन् । त्यो वरको रुख हालसम्म पनि छँदैछ ।

त्यस्तै, घैलाडुव्वा निवासी विष्णुप्रसाद पोखरेल र हंशनारायण राजवंशीका अनुसार १९८९ सालमा भारतको विहारबाट एक शक्तिशाली जटाधारी साधु तपस्वी आएर दुईवटा ताडिका रुख उत्तरपट्टि बरको फेदमा धुनी जगाई चिम्टा गाडेर बस्थे । उनीहरु नभएको बेलामा त्यो ठाँउमा बाघ सुतिरहेका हुन्थे । यीनै योगी तपस्वीसँग अरु साधुहरु पनि आएर बस्ने गर्दथे । साधु आएर कुटी बनाएर बसेकोले यहाँको नाम साधुकुटी भन्न थालिएको हो ।

पछि १९९३ सालमा सबै नापी भएपछि तहशिल ठाना र बजारको समेत व्यवस्था भई यो ठाँउले मौजाको रुप धारण गरेको हो । २००७ सालको क्रान्तिपछि उक्त कार्यालयहरु अड्डा सार भई झापा गएपछि २०१५ साल असार १६ गतेदेखि यहाँ एक मिश्री गिरी नामका साधुले बसोबास गरी हेरचाह गर्दै मन्दिरको दैनिक पुजापाठको जिम्मेवारी निर्वाह गर्दै आए । २०१५ सालदेखि ३२ सालसम्म मिश्री गिरी नामका साधुले मन्दिर र यो ठाँउको रेखदेख गर्दै आएका थिए ।

विकासक्रम–

२०३२ सालमा सट्टाभरनाबाट यहाँ बसोबास ल्याएपछि २०३४ सालपछि यी साधु मिश्री गिरी आफ्सेआफ हराए । यहाँबाट कता गए । पुजारी हिँडेपछि मन्दिरका मुर्ति र पुजा सामाग्री पनि हराउदै गए । २०३२ सालदेखि ०३७ सालसम्म समितिले गरेका कामको कुनै अभिलेख नभेटिएकाले केही भन्न सक्ने अवस्था नरहेको कञ्चनगढ गौरीशंकर स्मारिकामा उललेख छ ।

त्यसपछि तत्कालिन डाँगीबारी गाँउपञ्चायतको तर्फबाट रामचन्द्र कडेल, मधुराम पनेरुलगायतको अध्यक्षतामा समिति गठन गरी यो धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्ने कार्य हुँदै आयो । २०३७ सालमा श्री रामचन्द्र कडेलको अध्यक्षतामा गठित कार्य समितिले दुर्गामन्दिर, काली मन्दिर र गुठी निर्माण गर्नुका साथै यस संस्थाको सिमा रेखाङ्कन गर्ने कार्य गर्यो ।

२०४६ सालको जनआन्दोलनपछि गाविसबाट मनोनित मधुराम पनेरुको अध्यक्षतामा गठित नौ सदस्यीय कार्यसमितिले तत्कालिन पुजारी श्री जगन्नाथ उप्रेतीको पहलमा साविक गरामनी गाविस २ निवासी श्री गंगाप्रसाद प्रसाई र श्रीमति द्वय छायाँ देवी र इन्दिरा प्रसाईको छोरा बुहारी भिष्मप्रसाद र शुभद्रा प्रसाइले २०५० सालमा प्रदान गरेका शिवपाञ्चायन मुर्तिका साथै दुर्गा मुर्ति स्थापना गरियो ।

साथै चन्द्रप्रसाद खरेलको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरी सम्बन्धित निकायबाट विधान (कञ्चनगढ गौरीशङ्कर शिवालय) २०५३ दर्ता गराई २०५४ साल पौस ६ गते विधानतः प्रथम साधारणसभा गराई कार्यसमिति गठन गरियो ।

वि.सं २०५४ साल पौष ६ गतेको प्रथम साधारण सभाबाट घनश्याम गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरियो । सो समितिले २०४६ साल असार ७ गतेको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी उपशाखा डाँगीबारीसँग सम्झौता गरी बृक्षरोपण गर्ने कार्य अन्तर्गत काँडे तारबार लगाई मसला, शिरिस आदि विभिन्न जातका विरुवा १५ वर्षे अवधि तोकी लगाउने कार्य गर्यो ।

२०५७ साल कात्तिक २८ गतेदेखि चन्द्रप्रसाद खरेलको अध्यक्षतामा गठित समितिले ९ दिने श्रीमद् शिवमहापुराण लगाउने निश्चय गर्यो । पुराण आचार्य श्री दुर्गाप्रसाद खतिवडाको प्रमुख आचार्यत्व र पं.श्री तुलसीराम तिम्सिनाको व्यासत्वमा धनधान्यान्चल महायज्ञ सम्पन्न भयो ।

सो महायज्ञ पश्चात आचार्य श्री दुर्गाप्रसाद खतिवडाको प्रस्तावमा संस्थाको दिगो विकास र दैनिक कार्य सञ्चालनका लागि मुष्ठिदान र अक्षयकोषको स्थापना गरियो । सो अक्षयकोषमा ६३४ जना सदस्य छन् । उनीहरुले प्रदान गरेको रकमबाट कोषमा १०,०१,१११/- (दश लाख एक हजार एकसय एघार) जम्मा भएको छ । संस्थामा मुष्ठिदान गर्ने दाताहरु ४८४ जना रहेका छन् ।

२०५८ साल श्रावण ३ गते तत्कालिन जिल्ला सभापति अर्जुन राइको आतिथ्यमा सत्संग भवन शिलान्यास गरी चन्द्रप्रसाद खरेलको संयोजकत्वमा ५ सदस्यीय सत्संग भवन निर्माण उप समिति गठन गरी कञ्चनधाराको व्यवस्थापन गर्ने, आँपका बुढा रुख काट्ने निर्णय गर्यो ।

०५८ साल मंसीर १९ देखि २८ गतेसम्म लक्षहवन बराह महापुराण लगाइएको थियो । श्रीमति साबित्रा कडेलको संयोजकतवमा गठित उप समितिले फुसको छाना भएको यज्ञशालालाई पक्की टिनको छानो भएको यज्ञशाला निर्माण गरियो । उक्त यज्ञशालामा लक्षहवनदेखि आजसम्म यथाशक्ति दैनिक हवनकार्य भइरहेको छ ।

२०५९ साल भदौ २२ गतेको निर्णय अनुसार विधान संसोधन गरी ‘श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम’ नामाकरण गरी कार्य सञ्चालन भइरहेको छ । २०६० सालमा ब्रम्हामहापुराण सञ्चालन, ०६१ साल साउन १ देखि मंसीर २५ गतेसम्म अधिकमासका साथै चर्तुमासा श्रीमद् स्कन्द महापुराण सम्पन्न, ०६१ मंसीर १६ देखि २६ सम्म श्रीमद् स्कन्द महापुराण सम्पन्न गरी सोही दिनदेखि गुरुकुल सञ्चालन गर्न शुरु गरेको ।

त्यसयता संस्थामा प्रत्येक दिन शिव अनुष्ठान, रुद्राभिषेक, बालाचर्तुदशीमा सद्विज छर्ने कार्य हुनुका साथै सालैपिच्छे १८ पुराण लाग्ने गरेको छ । शिवरात्रीमा यहाँ केही समय अगाडीसम्म परम्परागत जलडाला मेला लाग्ने गर्दथ्यो । यहाँ मेला भर्न भारतको विहार लगायतका स्थानबाट मानिसहरु आउने गर्दथे ।

गुरुकुल शिक्षा सञ्चालन–

२०६४ साल पुस १ गतेदेखि जिल्ला शिक्षा कार्यालय झापामा दर्ता भई श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रममा गुरुकुल सञ्चालन भएको हो । २०६५ साल साउन ५ गतेदेखि प्रचार्य श्री हेमलाल ढकालले गुरुकुलमा शिक्षा प्रदान गरिरहेका छन् । हाल गुरुकुलमा २ जना प्राचार्य गुरु, ३७ जना ब्राम्हण समुदायका शिष्यहरु अध्ययनरत छन् ।

गुरुकुलमा तेह्थुम, पाँचथर, ताप्लेजुङ, इलाम, सुनसरी र झापा जिल्लाबाट आएका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीलाई खाने बस्ने व्यवस्था गुरुकुलले निःशुल्क गरेको छ । गुरुकुललाई जिल्ला शिक्षा कार्यालय झापाले १ लाख ६८ हजार रुपैया दिंदै आएको थियो । अहिले गाँउपालिकाले पनि सहयोग गर्दै आएको छ ।

संस्थामा रहेर जिम्मेवारी निर्वाह गर्ने व्यक्तिहरु

वि.सं २०६७ सालदेखि ०७२ साल स्मारिका प्रकाशन हुँदासम्मका जिम्मेवार कार्यसमितिका पदाधिकारीको नामावली ।
-दुर्गाप्रसाद खतिवडा–अध्यक्ष
-मधुराम पनेरु–अध्यक्ष
-बेदनिधी ढकाल– उपाध्यक्ष
-ज्ञानु सुवेदी –सचिव
-होममणी दाहाल सह–सचिव
-घनश्याम गौतम–कोषाध्यक्ष
-पशुपति संग्रौला–सदस्य
-साबित्रा कडेल–सदस्य
-गंगाराम धिताल–सदस्य
-ऋषिराम मैनाली–सदस्य
-उमा उप्रेती–सदस्य
-पदमलाल गुरागाँई–सदस्य
-शान्तिकुमार ढकाल–सदस्य
-नन्दलाल पराजुली–सदस्य
-घनेन्द्रकुमार कोइराला–सदस्य
-कमला सिवाकोटी–सदस्य

सिमाना–

कञ्चनगढ धामको पूर्वतर्फ साविक अनारमनी, गरामनी गाविस, बिहीबारे बजार, पश्चिमतर्फ डाँगीबबारी, सुरुङ्गा, शरणमती, उत्तरतर्फ चारपाने, घैलाडुव्बा र दक्षिण दिशातर्फ चकचकी, घोडामारा पर्दछ ।

जातजाति–

यो स्थान विभिन्न जातजातिको बसोबासको संगम स्थल हो । यो स्थान वरिपरि क्षेत्री, बाहुन, राई, लिम्बु, गुरुङ, तामाङ, राजवंशी, सन्थाल आदि जातजातिको बसोबास रहेको पाइन्छ ।

भौतिक संरचना–

हाल कञ्चनगढ धाम परिसरमा शिवालय मन्दिर–१, सरस्वतीको मन्दिर–१ ,काली मन्दिर–१ , दुर्गा मन्दिर–१, सन्तोषी माताको मन्दिर– १, राधाकृष्ण मन्दिर– १, गौरीशंकर ब्रम्हविद्यापीठ –१, गायत्री गुरु आश्रम–१, यज्ञशाला–१, स्वाध्येयशाला–१ र निर्माणधिन गुरुकुल गरी ११ वटा भौतिक संरचना रहेका छन् । कञ्चनधारा, कञ्चनपोखरी, नागपोखरी, प्राचिन कुटी, बटबृक्ष, ताडीबृक्ष आदि पनि रहेका छन् ।

सो स्थानसम्म पुग्न सडकको व्यवस्था छ । सडकहरु कच्ची छन् । वरीपरिको समथर जमिन र बिचमा अग्लो टापु भएको जमिनमा साधुकुटी अवस्थित छ । अग्लो डाँडो भएकोले त्यहाँ पुग्न जताबाट गएपनि उकालो चढेरै मात्र जान सकिन्छ । विजुलीबत्ती र छेउमै खानेपानीको टेङ्की भएकोले विजुली र खाने पानीको व्यवस्था छ । संस्था परिसरमा ३ वटा शौचालय र एउटा बाथरुम रहेको छ ।

भौगोलिक अवस्था–

समुद्री सतहबाट यो स्थान करिव १३० मिटरको उचाइमा रहेको छ । यो स्थान पौराणिक कालमा पाण्डवहरुको ओहोरदोहोर, विराट राजाको गाई गोठ र शलेस राजाको दरबार रहेको स्थान किंवदन्ती आदि कारणले ऐतिहासिक महत्वको स्थान हो ।

वरीपरि सम्म जमिन र विचमा टापु आकारको यो भूभाग झट्ट हेर्दा पौराणिक कालमा कुनै गढ वा सामरिक महत्वको स्थान भएको प्रष्ट देख्न सकिन्छ । यो स्थान पूर्व पश्चिम राजमार्गको चारपाने सडक खण्डबाट ७ किलोमिटर दक्षिणमा पर्दछ । यहाँको माटो रातो, कमेरो, कालो र पहेलो छ ।

३ विगाहा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको यो साधुकुटीको वरिपरि बारदशी सामुदायिक बनले घेरिएको छ । सामुदायिक बन ३१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो स्थानमा जैबिक विबिधतायुक्त हावा पानी पाइन्छ । बनस्पती र जडिबुटी पाइनुका साथै विभिन्न जातका चराचुरुङीहरु प्रशस्त पाइन्छ ।

बनजंगल/बोटबिरुवा–

यो स्थानमा सखुवा, बर, पिपल, ताडी, राजबृक्ष, बेल, रुद्राक्ष, खयर, चिलाउने, रङ्काठ, खमारी, कटहर, लटर, ग्रिन सिमल, अशोक, शिरिश, गायो, इपिलिपि, कदम, कुटमेरो, मलेत्रो, खस्रेटो, सिसौ, हर्रो, बर्रो, अमला आदि बोट बिरुवा पाइन्छ ।

साथै यहाँ अँगेरी, काली अँगेरी, बनअमला, धतुरो, थकाल, डेस्मोडियम, क्राइसोपोगन, साइपेरश, काल्था, सिकुटा, मेन्था, सिडा, ट्रिउमफेटा, बनकुरो, बकैनो, बयर, अमरफुल, कस्कुटा, आकाशबेली, कलचुडो, बाबियो, पुड्केझार, लहरेसिस्नु आदि झारपात र बुट्टे बनस्पतिहरु पाइन्छ । फुल फुल्ने र नफुल्ने बनस्पति पनि यहाँ पाइन्छ ।

झारपात –

भाटे, सुनकेस्रे लहरो, शिरु, कुश, फुर्केखर, बनमारा लहरो, बनमारा आदि जातका झारपात र विरुवाहरु पनि पाइन्छ ।
मतिगरा होली र कञ्चनगढ पश्चिम उम्रने पानीको मुहान र दहमा रेननकुशल, ड्राइमारिया, सानु चिल्या, काउसो, पिस्टीया, जलकुम्भी, हाइड्रिला, पानी उनिउ, एजोला आदि बनस्पति र झारपात पनि पाइन्छ ।

जडीबुटी –

यहाँ खसखस, दुबो, भिरकाउलो, बोझो, पानीझार, कानेझार, भाङ, अण्डी, सरुवा, दत्तिवन, भृङ्गराज, मरिच, पिपला, पान, पिर्रेझार, राते, लट्टे, लुँडे, बनलुँडे, भिरिङ्गीझार, अपामार्ग, तुलसी, धुसुरे, रातोचारपाटे, निलकाँडा, भेडेकुरो, असुरो, ठूलो बिही, दुधेझार, कालीगेडी, कालोधतुरो, अमरलत्ती, इलामेझार, तितेपाती, घोडताप्रे, सिँउडी, बनकरेलो, मेवा, रातो चुलेसी, समुद्रफल, हर्रो,बर्रो, अमला, लज्जावती, रुन्चे, दादे, कोइरालो, टाँकी, सिरिस, खयर, पलाश, सिमली, लालगेडी, सजिवन, निम ,बेल, चरीअमिलो र अभिजालो आदि ।

जन्तु /जनावर–

स्याल, जंगली बिरालो, छिर्के बिरालो, कमन इण्डियन फ्लाइङ्ग फक्स, मुसा, खिरखिरे,बाँदर, खरायो आदि । उभयचर वर्गमा बुफो, भ्यागुत्ता, पाहा आदि पाइन्छ । सरीश्रृप बर्गमा गार्डेन लिजार्ड, छेपारो, स्मुथवाटर स्नेक,गनग्वाली, गोमन, करेत, धामन, हरहरे आदि पाइन्छ ।

चराचुरुङ्गी–

एसिपिटर भिर्गेटस्, पिड् क्रेसटेड कुको, उड् पिजन, रातोपुछ«े, मैना, फराकिलो पुच्छर भएको हरियो परेवा, घर परेवा, भँगेरा, ढुकुर, चिल, काठे ठकठके चरो, काकाकुल, कालो र खैरो घाँटी भएको काग, रुपी, लाटोकोसेरो, गौथली, जुरेली, हुटिट्याउ, सुविचरो, कोएली, पहेलो पुच्छर भएको चरा आदि यहाँ पाइन्छ ।

अन्य धार्मिक तथा पर्यटकीय स्थानसँगको सम्बन्ध

यस क्षेत्रको सम्बन्ध पौराणिक कालदेखि नै झापाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रसँग भएको पाइन्छ । वरिपरि रहेका धार्मिक तथा महत्वका स्थानहरु साधुटार, चारपानेको साङ्गवेद संस्कृत विद्यालय, विराटपोखर, किच्चकबध, अर्जुनधारा, सताक्षीधाम आदिसँग यसको सम्बन्ध रहेको छ ।
श्रोत :– स्थलगत अवलोकन, रिर्पोटिङ, सञ्चालक समितिसँग भेटघाट, कुराकानी र संस्थाको स्मारिका

बिहीबार ६:१० बजे प्रकाशित