‘उद्योगी–व्यवसायीलाई आवश्यक सुविधा दिन सरकार तयार छ, लगानी गर्नुस्’-मुख्यमन्त्री राई चेम्बर अफ कमर्स र प्रदेश १ को पदस्थापन

विर्तामोड / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगी–व्यवसायीलाई आवश्यक सुरक्षा, उर्जा अनि कर तथा जमिनमा सहुलियत दिन प्रदेश सरकार प्रतिबद्ध रहेकोले ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्समा पहिलो पटक आबद्ध भएका प्रदेश नं १ स्तरीय चेम्बर अफ कमर्स र मोरङ चेम्बर अफ कमर्सले सोमबार यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यालय शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राईले प्रदेश सरकारको अर्जुनदृष्टि आर्थिक विकास र समृद्ध प्रदेश बनाउने रहेकोले यसका लागि साथ दिन उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

उनले भने– ‘प्रदेश नं १ साधन–स्रोतमा कम छैन, विश्वको सर्वोच्च हिमाल यहाँ छ, नेपालकै सबैभन्दा होचो भाग कचनकवल यही प्रदेशमा छ, हिमाल, पहाड र तराईको अनुपम संयाजन रहेको यो प्रदेश पर्यटनका दृष्टिकोणले उत्कृष्ट छ’ । मुख्यमन्त्री राईले भने– ‘उद्योग स्थापनाका लागि करमा छुट दिन सरकार तयार छ, सुरक्षा प्रदान गर्न सरकार तयार छ, आवश्यक उर्जा प्रदान गर्न सरकार तयार छ । प्रदेशलाई समृद्ध बनाउने विषयमा सरकारले कुनै कञ्जुस्याइँ गर्ने छैन । आउनुहोस् सहकार्य गरौं ।’

चेम्बर अफ कमर्सका प्रदेश संयोजक पर्शुराम दाहाल र मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशमान श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेको कार्यक्रममा विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका राष्ट्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले संस्थाको विधान संशोधन गरी राज्यको संघीय संरचना अनुसार संगठन विस्तार गरिएको जानकारी दिए ।

काठमाडौंमा मात्र केन्द्रित र क्रियाशील चेम्बर अफ कमर्सलाई जिल्ला–जिल्लामा विस्तार गर्नेक्रममा यसमा आबद्ध रहन व्यवसायीहरु उत्साही देखिएको बताए । ‘व्यावसायिक हकहितका लागि चेम्बर अफ कमर्स सदैव प्रतिबद्ध छ’, उनले भने– ‘जिल्ला–नगरमा चेम्बर अफ कमर्सको छातामुनि गोलबद्ध हुन चाहने व्यवसायीहरुको उत्साहले हामीलाई पनि उत्साही बनाएको छ ।’ उनले सबै ७७ जिल्लामा चेम्बर अफ कमर्स गठन गरिने जानकारी दिँदै जिल्ला गठन सकिएपछि नगरस्तरीय नगर–गाउँस्तरीय समिति गठन गरिने बताए ।

मोरङ चेम्बर अफ कमर्सका सदस्य सन्देशदास श्रेष्ठले सञ्चालन गरेको र अध्यक्ष सुरेशमान श्रेष्ठले स्वागतसहित संस्था गठन अर्नुको औचित्य प्रकाश पारेको सो कार्यक्रममा जिल्लाहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोष अग्रवाललगायत सबै जिल्लाका अध्यक्षहरुले प्रमाणपत्र ग्रहण गरेका थिए भने मोरङ चेम्बर अफ कमर्सका पदाधिकारी–सदस्यहरुलाई संस्थापक सदस्यको प्रमाणपत्र राष्ट्रिय अध्यक्ष श्रेष्ठले प्रदान गरेका थिए ।

समारोहमा झापाका स्थानीय तहका प्रमुखहरुले मुलुकले राजनीतिक स्थिरता प्राप्त गरिसकेकोले मुलुकभित्र उत्पादनमूलक उद्योग स्थापनामा लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे । कनकाई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले झापा लगानीका लागि उपयुक्त क्षेत्र भएकोले झापामा उद्योग स्थापना गर्न आग्रह गरे । उनले आफ्नो नगरमा प्रशस्त खाली जमिन रहेको र बन्द निषेधित क्षेत्र पनि भएकोले कनकाई नगरपालिका क्षेत्रभित्र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न उपस्थित उद्योगीहरुलाई आग्रह गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुद देवी पराजुली, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख दिलीपकुमार गौतम, विराटनगर भन्सार कार्यालय प्रमुख मिमांशु अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै आफ्नो कार्यालयको तफृबाट हुने आर्थिक विषयका कार्यक्रमहरुमा, नीति निर्माण तहमा चेम्बर अफ कमर्सलाई सहभागी गराउने बताए । विराट व्यापार संघका अध्यक्ष शिवप्रसाद रिजालले शुभकामना मन्तव्य राख्दै चेम्बर अफ कमसंसँग आफ्नो संघले सदैव सहकार्य गर्ने उल्लेख गरे ।