नेपाल अलैंची व्यवसायीको साधारणसभा सम्पन्न, अलैंची–विकास कार्ययोजना पारित

झापा / ‘हाम्रो पहिचान, हाम्रो शान, गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान’ भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौं साधारणसभा सोमबार सम्पन्न भएको छ ।

तयारी अलैंचीको गुणस्तर सुधार, अलैंची खेती विस्तार, निर्यात व्यापार प्रवद्र्धनका विभिन्न कार्ययोजना पारित गर्दै पर्यटकीय शहर पोखराको होटल लिगेसीमा साधारणसभा सम्पन्न भएको महासंघका कार्यकारी प्रमुख अनिल ढुंगानाले जानकारी दिए ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।

होटल लिगेसीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ढकालले अलैंची नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भएकोले अलैंचीको संरक्ष्ग्ण, खेती तथा निर्यात व्यापार विस्तारमा सरकारलगायत निजी आर्थिक क्षेत्रले विशेष ध्यान पुर्याउनुपर्ने बताए । ‘नेपालको व्यापारघाटा वर्षेनि भयावह रुपमा बढ्दै गएको अवस्थामा केही मात्रामा भए पनि अलैंचीले व्यापार घाटा घटाउन भरथेग गर्दै आएको छ’, उनले भने– ‘यसलाई थप मूल्यवान बनाउन सरकारले पनि र निजी क्षेत्रले पनि समान रुपमा लगानी गर्नुपर्दछ ।’

कार्यक्रमका सञ्चालक महासंघका महासचिव ओमकृष्ण विमलीले वार्षिक प्रगति विवरण र अध्यक्ष भट्टराईले महासंघको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दीपक नेपालले स्वागत गरेका थिए भने कोषाध्यक्ष सुवास भट्टराईले आ. व. ०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महासंघले साधारणसभाको अवसर पारेर अलैंचीको विकास र प्रवद्र्धनमा योगलान पुर्याउने व्यवसायी, कृषक र एउटा जिल्ला शाखालाई सम्मान गरेको थियो । लामो समयदेखि अलैंची व्यवसायमा संलग्न विर्तामोडका निर्यातकर्ता रोशनलाल अग्रवाल, नमुनायोग्य एवम् अनुशरणीय ढंगले अलैंचीको खेती गर्दै आएका धनुटाका उत्कष्ट अलैंची किसान लाखबहादुर घिसिङ र ताप्लेजुङ जिल्ला शाखालाई सम्मान गरिएको थियो ।

उनीहरुलाई प्रमुख अतिथि ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा संरक्षक राजेन्द्रकुमार घिमिरेले संयुत्तल रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

उद्घाटन समारोहमा हालै गठन गरिएको कास्की शाखा सििमति तथा पदाधिकारी–सदस्यहरुलाई महासंघको तर्फबाट अध्यक्ष भट्टराईले सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, महासंघका संरक्षक घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान, ने.उ.वा. महासंघ ४ नं प्रदेशका संयोजक सञ्जीवबहादुर कोइराला, महासंघको लमजुङ शाखा अध्यक्ष अजय तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाको बन्दसत्रले विधान संशोधन गर्दै राज्यको संघीय संरचनाअनुसार महासंघको प्रदेशस्तरीय समिति गठन गर्ने प्रावधान राखेको छ भने समयभित्र साधारणसभा गर्न नसकेका जिल्ला समितिहरुलाई आउँदो फागुनभित्र साधारणसभा गरिसक्न निर्देशन दिएको छ ।

बन्दसत्रले संगठनात्मक, अलैंची खेती र आन्तरिक तथा निर्यात व्यापार विस्तारका लागि कार्ययोजनाहरु पारित गरेको महासंघका कार्यकारी प्रमुख ढुंगानाले बताए ।