भीसी फेरिए, भाषण फेरिएन

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रममा बोलेको पाइएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७१ पुस १४ मा भएको दीक्षान्त कार्यक्रममा महर्जनले गरेको भाषण र २०७२ मंसिर १६ मा रंगशालामै भएको ४१ औं दीक्षान्तमा खनियाँले दिएको लिखित भाषण जस्ताको तस्तै छ । कार्यक्रममा अतिथि र प्रमुख अतिथि फरक भएकाले सम्बोधन फरक भए पनि त्यसपछिका अरू विवरण उस्तै छन् । दुवै जनाको स्वागत मन्तव्य ९ पृष्ठकै छ । महर्जन र खनियाँको स्वागत मन्तव्यको एक/दुई अनुच्छेदमात्र फरक छन् ।

४० औं दीक्षान्तमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला प्रमुख अतिथि थिए भने ४१ औंमा राष्ट्रपति विद्यादेवी भण्डारी । ४० र ४१ औं दीक्षान्तका स्वागत मन्तव्यमा अतिथि र प्रमुख अतिथिको नाम, उपकुलपतिको नाम भने फरक छन् । सम्बोधनपछिको पेज २ र ३ को सबै वाक्य उस्तै छ । महर्जनको स्वागत मन्तव्यमा लेखिएको वाक्य मात्रै नभई कमा, पूर्णविराम पनि खनियाँकोमा दोहोरिन्छ । चौथो पेजमा पनि तथ्यांक र प्राविधिक नामबाहेक अरू वाक्य एउटै छन् । पाँचाैं पृष्ठमा महर्जनले शैक्षिक सत्र २०७१/७२ मा मात्रै ५ सय जना विदेशी विद्यार्थी त्रिविमा अध्ययनरत रहेको उल्लेख गरेका छन् भने खनियाँको भाषणमा शैक्षिक सत्र उल्लेख नगरी अघिल्लो वर्षको भाषणमा झैं ५ सय विद्यार्थी अध्ययनरत रहेको उल्लेख छ । यही पृष्ठमा महर्जनले त्रिविले गत वर्षदेखि सुरु गरेको सेमेस्टर प्रणालीले गुणस्तरमा तुलनात्मक रूपमा सुधार भएको उल्लेख गरेका छन् भने खनियाँको मन्तव्यमा सेमेस्टर प्रणाली सुरु गरेको तथ्य सबैलाई विदितै रहेको र उपलब्धि राम्रो भएको लेखेका छन् ।

महर्जनले सेमेस्टर प्रणाली अन्तर्राष्ट्रिय प्रचलन भन्ने शब्द प्रयोग गरेका छन् भने खनियाँले प्रणाली मात्रै भनेका छन् । पृष्ठ ६ मा सबै हुबहु भए पनि महर्जनले त्रिविलाई केन्द्रीय विश्वविद्यालय भनेका छन् भने खनियाँले राष्ट्रिय शब्द प्रयोग गरेका छन् । अनुच्छेदका एक/दुई शब्द परिवर्तन भए पनि अरू सबै मिलेको देखिन्छ । पृष्ठ सातमा भने एउटा अनुच्छेद फरक छ । पृष्ठ आठ र नौ अन्तिममा अतिथि र प्रमुख अतिथि फरक नाम राखेर धन्यवाद दिनेबाहेक अरू कुनै फरक छैन ।

त्रिविले पहिलोदेखि ४३ औं दीक्षान्तसम्म उपकुलपतिले दिएको स्वागत मन्तव्यको संग्रह प्रकाशन गरेको छ । संग्रहको शनिबार विमोचन हुँदै छ । आफ्नो भाषण महर्जनसँग मिलेपछि खनियाँले सम्पादन गरेर मौलिक बनाउने प्रयास गरेका छन् । खनियाँले अघिल्ला उपकुलपतिको भाषणसँग आफ्नो भाषण हुबहु मिल्नुलाई ‘सामान्य’ भनी प्रतिक्रिया दिए । ‘पुरानो फम्र्याट भएकाले कपी भएर आउन सक्छ । विषयवस्तु उलटपुलट भए अलग कुरा हो,’ उनले भने, ‘भाषण संग्रह छापिएको छ । भोलि विमोचन छ । छापिँदा सम्पादन भएको छ । रेडिमेट भाषण दोहोरिन सक्छ । यो ठूलो कुरा हो जस्तो लाग्दैन ।’

उपकुलपतिले बोल्ने भाषण सचिवालयले तयार गर्ने भएकाले कसको सँग दोहोरियो भन्ने आफूलाई थाहा नहुने पनि उनले बताए । दीक्षान्त समारोह विश्वविद्यालयको महत्त्वपूर्ण प्राज्ञिक समारोह हो । त्यस्तो ठाउँमा उपकुलपतिले दिने अभिव्यक्तिसमेत मौलिक हुनुपर्ने ठानिन्छ ।