इलाममा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स बन्ने

आर्थिक समाचार प्रदेश व्यापार व्यवसाय

इलाम / स्थानीय तह पुनर्संरचना भएपछि सदरमुकामको व्यापार घटेको चर्चा भइरहेका बेला इलाम नगरपालिकाले इलाम बजारमा सुविधासम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ ।

 सिटी मार्ट निर्माण भएपछि इलामको चहलपहल अझ बढ्ने नगरपालिकाको अपेक्षा छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमै भवन निर्माण थाल्ने लक्ष्य लिएको छ । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको हुने इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।

व्यापारिक प्रयोजनका लागि बनाउन लागिएको सो भवनको चौथो तल्लामा स्टिल ट्रस्ट लगाएर तरकारी तथा मासु पसलका लागि तयार गर्ने इन्जिनियर गुरागाईंले भने । भवन निर्माण हुने स्थलमा रहेका कपडा र तरकारी पसल नगरपालिकाले हटाइएको छ ।

सिटी मार्टका लागि इलाम अस्पतालको पोस्टमार्टम घरछेउमा पार्किङस्थल बनाउने नगरको योजना छ । आउँदो २०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको छ ।