बलाधिकृत रथी थापा कामु प्रधानसेनापतिमा सिफारिस

राष्ट्रिय समाचार

काठमाडौं / नेपाली सेनाको नयाँ नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले गर्ने निश्चित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो ।
थापाले २५ साउनदेखि कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी २४ भदौबाट सकिँदै छ । नेपाली सेनामा अवकाशपूर्व एक महिना बिदा बस्ने प्रचलन रहेकाले क्षत्री २४ साउनदेखि नै बिदामा बस्नेछन् । त्यसपछि थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् । २४ भदौपछि थापाले पूर्णरूपमा प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् ।

कायम मुकायम प्रधानसेनापतिमा सिफारिस थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बलदेवराज महतसँगै एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेसँगै उनी नयाँ प्रधानसेनापति बन्ने निश्चित भएको थियो । दाहाल सरकारले एक वर्ष पदावधि नथपेको भए उनी गत असोजमा रथीबाटै अवकाश हुने थिए । थापासँगै पदावधि थपिएका महतले भने १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकाश पाइसकेका छन् । उनको अवकाशका कारण थापा सेनापतिको एक्लो दौडमा थिए ।

लमजुङ पाखाथोकमा जन्मिएका थापा २०३७ सालमा सहायक सेनानीमा भर्ना भएका थिए । थापाको पल्टन गोरखबहादुर गण हो ।
नेपाली सेनामा आफूलाई अब्बल र क्षमतावान् साबित गरिसकेका थापालाई सेनाभित्र उच्च व्यावसायिक सैनिक अधिकारीका
रूपमा समेत चिनिन्छ ।

थापाले सेनाका महŒवपूर्ण विभाग मानिने सबै ठाउँमा काम गरेर आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । उनले जंगी अड्डामा जनरल स्टाफ अधिकृत र प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृतको जिम्मेवारीसमेत बहन गरेका थिए । यस्तै, नेपाली सेनाको महŒवपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशकको जिम्मेवारीमा पनि उनी रहेका थिए । उनले उपरथी हुँदा कार्यरथी तथा सम्भाररथीको समेत अनुभव बटुलिसकेका छन् ।

थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ बाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरिसकेका छन् ।

सेनामा मध्यम तहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज उनले नेपालबाटै गरेका थिए । उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । थापाले मद्रास विश्वविद्यालयबाट फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् ।

थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ट अनुभव हासिल गरेका छन् । थापाले सन् १९८६ मा युनिफिल मिसन लेबनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन प्रधान कार्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया, हर्जगोभिनिया र क्रोयसिया) मिसनमा सफल भूमिका निर्वाह गरेका थिए ।

थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाइटेड नेसुन्स मिसन इन नेपाल (जेएमसीसी) अन्तर्गत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।

थापाले यसअघि प्यालेस्टाइन सीमा क्षेत्रस्थित राष्ट्रसंघीय मिसन, अनडफमा फोर्स कमान्डरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । दुईवर्षे शान्ति मिसनमा फोर्स कमान्डरका रूपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।

थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरका रुपमा सेनाबाट बालानन्द शर्मा, पवनजंग थापा, कृष्णनारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन् ।

थापा सुप्रबल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ति पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभूषित भइसकेका छन् ।
कायममुकायम प्रधानसेनापतिमा सिफारिस थापाका बाबु फणेन्द्रबहादुर थापाले प्रमुख सेनानीबाट अवकाश पाएका थिए । उनका दाजु रोहित थापाले पनि सशस्त्र प्रहरीको एआईजीबाट अवकास पाएका थिए । राजधानी दैनिकमा खबर छ ।