दाहाल यज्ञनीधिको निधन

पत्रपत्रिका

‘जदौ श्रोता, म दाहाल यज्ञनिधि !’
यो आवाज अब कहिल्यै रेडियोबाट सुन्न पाइने छैन । रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘साहित्य संसार’बाट पहिलो पटक प्रसारित जदौ शब्द स्थापित गर्ने यज्ञनिधि शुक्रबार अस्ताएका छन् ।

जदौ शब्द बोलेकै कारण रेडियो नेपालमा पटकपटक हप्की खानुपरे पनि उनी बोल्न कहिल्यै छाडेनन् । पञ्चायती शासकले सेन्सर गरेर दिएका शब्द कहिल्यै बोलेनन्, बरु अधिकृतको जागिरै छोडिदिए ।

विज्ञापनअनुसार दिएको आवेदन, स्वर परीक्षा र अन्तर्वार्ताबाट पहिलो नम्बरमा नाम निस्किएपछि रेडियो नेपाल प्रवेश गरेका दाहालले २३ वर्षसम्म करारमै काम गरे । दाहालले २०३४ साल कात्तिक ११ गते रेडियो नेपालको औपचारिक करार सेवा सुरु गरेका थिए । हरेक दुई वर्षमा करार थप्दै उनले ०५७ साल असार मसान्तसम्म रेडियो नेपालमा जागिर खाए । सरकारी जागिरबाट अवकास पाउने अवधिसम्म उनको जिन्दगी करारमै बित्यो । रेडियोबाट कविता, गीत र निबन्ध बोलेकै कारण स्पष्टिकरणका दर्जनौं कारबाही भोगे ।

रेडियो नेपालमा प्रवेशका सुरुवाती दिनमा हप्ताभरि कार्यक्रम चलाउँथे । साहित्यिकसँगै अन्य कार्यक्रमको जिम्मेवारी थियो । सुरुमा ‘साहित्य संसार’, ‘प्रवासका कुरा’, ‘हाम्रो संस्कृति हाम्रो परम्परा’लगायत कार्यक्रम चलाए । बिस्तारै उनका कार्यक्रम कटौती हुँदै गए । दाहाल ०५७ सालमा आइपुग्दा ‘साहित्य संसार’ मात्रै चलाउँथे । त्यही बीचमा मृर्गौला फेल भएपछि दाहाल १० महिना रेडियो नेपाल जान सकेनन् । यसैलाई कारण देखाएर रेडियो नेपालले उनलाई करारको जागिरबाट निष्कासन गरेको थियो । त्यसपछि उनको रेडियो नेपालको २३ वर्षे यात्रा टुंगियो ।

जनआन्दोलन २०६२÷०६३ पछि दाहाल फेरि रेडियो नेपाल प्रवेश गरे । ०६३ कात्तिक १ गते रेडियो नेपालको नयाँ नियुक्ति पाएका उनले दुई वर्ष त्यहाँ कार्यक्रम चलाए ।

अघिल्लो पटक रेडियो नेपालबाट निकालिएपछि दाहालले २०५९ असारदेखि २०६५ माघसम्म ‘जदौ’ कार्यक्रमलाई निरन्तरता दिए । पछिल्लो डेढ वर्षदेखि दाहाल रेडियो अन्नपूर्णमा हरेक शनिबार बिहान ८ बजेपछि ‘जदौ’ कार्यक्रममा बोल्दै थिए । अघिल्लो शनिबार उनको अन्तिम कार्यक्रम बजेको थियो ।

शब्दचित्रमा जदौ

२०१० साउन ८ गते खोटाङको लथ्याङ गाविस ७ धारापानीमा पिता स्व.तारानाथ र आमा विष्णुकुमारीको कोखबाट दाहालको जन्म भएको थियो ।१६ वर्षमै उनले बुबा गुमाएका थिए । १७ वर्षमा औपचारिक शिक्षा आरम्भ गरेका दाहालको पढाइ पितृवियोगपछि बीचमै रोकिएको थियो । बुबा बितेको वर्षदिनपछि भरियाहरूसँग भागेर उनी धरान पुगे र त्यहीँ थप औपचारिक शिक्षा लिए ।

‘आँपको मञ्जरी’ शीर्षकको कविताबाट साहित्य यात्रा आरम्भ गरेका दाहालको ‘उद्वेग’ शीर्षकको कविता पहिलो पटक प्रकाशित भएको थियो । भैरव अर्यालले मागेर २०३३ सालमा मधुपर्कमा पहिलो कविता छापिदिएका थिए ।

साहित्यकार तथा सञ्चारकर्मी दाहाल शिक्षक पनि हुन् । उनले दरबार स्कुलमा २७ वर्ष शिक्षण गरे ।

नेपाली समाजमा दलित समुदायका व्यक्तिले कथित ठूला जातका मान्छेलाई भन्ने जदौ शब्द दाहालले रेडियोमार्फत् लोकप्रिय बनाएका थिए । उनको रेडियो कार्यक्रम किसानले खेत जोत्तै गर्दा काँल्ना र डिलमा राखेर पनि सुने । जदौ शब्द उनको परिचय बन्यो, यसलाई उनले कहिल्यै छोडेनन् । उनी सबैलाई ‘जदौ’ शब्दले नै अभिवादन गर्थे ।

साहित्यतर्फ कविता, गीत र निबन्धमा कलम चलाएका दाहालका रचनाा सामाजिक विकृतिविरुद्ध वैचारिक स्वर पाइन्छ । उनी साहित्यमा बीपी कोइराला र लक्ष्मीप्रसाद देवकोटालाई आदर्श व्यक्ति मान्थे । उनको एउटा मात्र किताब ‘जदौका निबन्ध’ प्रकाशित छ । फुटकर रूपमा भने उनका दर्जनौं रचना प्रकाशित छन् ।

०५७ फागुनमा उनको मृर्गौला फेरियो । फेरेको मृर्गौलाले काम नगरेपछि २०६८ साउन २२ गतेदेखि दाहाल ओछ्यान परे । त्यसपछि उनको जिन्दगी डायलिसिसमा निर्भर बन्यो । बुधबार (साउन २३ गते) घरमा लडेर बेहोस भएका उनको शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो । उनकी ८१ वर्षीया आमा र श्रीमती सुधा छन् ।

लडेर टाउकोमा चोट

बुधबार घरमा लडेपछि दाहालको टाउकोमा सामान्य चोट लागेको थियो । टाउकोको चोटका कारण दिमागमा रगत जमेको थियो । त्यसको उपचारका लागि अपरेसन गर्नैपर्ने थियो । नियमित डायलिसिसमा रहेकाले अपरेसन सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालका प्रमुख डा.वसन्त पन्तको टिमले सुमेरु अस्पताल रिफर गर्‍यो ।

‘लामो समय चेत नखुलेपछि उहाँको ब्रेनभित्र रगत रहेको थाहा भयो । अस्तिभन्दा हिजो र हिजोभन्दा आज त्यसको मात्रा बढेर गयो । अपरेसन हुन नसकेपछि हामीले डायलिसिस थाल्यौँ । तर डायलिसिस हुन सकेन’, सुमेरु अस्पतालका प्रमुख डा.ऋषिकुमार काफ्लेले भने, ‘डायलिसिस गर्दा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राख्नुपर्ने भयो । अक्सिजन र भेन्टिलेटरमा राखेर पनि ‘स्टेबल’ राख्न सकिएन । म्यासिभ ब्रेन ह्यामरेजका कारण हामीले उहाँलाई बचाउन सकेनौँ ।’

दाहालकै चाहनाअनुसार उनको मृत शरीर टिचिङ अस्पताललाई दान दिने निर्णय परिवार र शुभचिन्तकले गरेका छन् । अन्नपूर्णपोष्टबाट