आइमाईको शत्रु आइमाई !

                                                                                                    लीला लुइँटेल-


काठमाडौँ / केही समय पहिले नेपाली साहित्यमा भएका भाँडभैलोको चर्चा गर्दै यसै पंक्तिकारले लेखेको ‘हावादारी विश्लेषण’ शीर्षक लेखमा केही महिला समालोचकको नाम पनि परेपछि मदन पुरस्कार प्राप्त एक बौद्धिक लेखकको टिप्पणी थियो– ‘आइमाईको शत्रु आइमाई भनेको ठिकै हो रहेछ । मैले प्रतिवाद गरेपछि उनको कुतर्क थियो– सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानीका बीचमा झगडा भइरहेको प्रत्येक घरमा देखिन्छ, तर तपाईंले ज्वाइँ–ससुरा, साला–भिनाजु कहिल्यै झगडा गरेको देख्नुभा’छ ?’

कठैबरी उनको कुतर्क ∕ हो सासू–बुहारी, नन्द–भाउजूका तुलनामा ज्वाइँ–ससुरा, साला–भिनाजुको कहिल्यै पनि विवाद र झगडा हुँदैन । किनकि झगडा र विवाद भनेको समान वर्ग र हैसियतका बीचमा हुन्छ । हाम्रो समाजमा ज्वाइँलाई ‘नारान’को उपमाले विभूषित गर्दै मान्छेको तहभन्दा माथि राखेर सत्कार र सम्मान गरिन्छ । यसरी एउटा मालिक र अर्काे दास भएर प्रस्तुत हुने यस स्थितिमा ज्वाइँ–ससुरा, साला–भिनाजुको बीचमा विवाद र झगडा पर्न सक्ने कुरै भएन । हाम्रो सामाजिक यथार्थ यति छर्लङ्ग हुँदाहुँदै पनि बुझ पचाउँदै किन यस्ता अनर्गल टिप्पणी गरिन्छ कुन्नि ?

हाम्रो सामाजिक संरचनामा परिवारभित्र पुरुषभन्दा महिला बढी समय एकै ठाउँमा बस्नुपर्ने स्थिति हुन्छ । पुरुष घरभित्रका अधिकांश काममा संलग्न हुँदैन । सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानी एकै ठाउँमा बसेर लामो समय झिनामसिना देखिने काममा सक्रिय हुनुपर्ने भएकाले उनीहरूबीच कतिपय सन्दर्भमा वादविवाद हुन सक्छ ।

जहाँसम्म देउरानी–जेठानीका तुलनामा दाजु–भाइको कुरा छ, घरपरिवार एवं समाजमा कुनै कार्य एवं पर्व पर्दा हरेक कार्यमा अधिकांशत: महिलाहरू जोतिइरहेका हुन्छन् । तर त्यही सन्दर्भमा भने पुरुषचाहिँ मिल्ने स्थितिमा भए बोतल खोल्न थाल्छ र त्यसको सितनका लागि पनि महिलालाई नै आदेशात्मक ‘फर्माइस’ गर्न थाल्छ । यदि बोतल खोल्ने परिस्थिति अनुकूल नभए ऊ तास लिएर पलेँटी कस्छ । अब यहीँनेर हेरौँ, आफ्नो भोकतिर्खालाई बेवास्ता गर्दै काममा एकोहोरो जोतिने महिला वर्गमा सामान्य विवाद एवं भनाभन भएको सुन्ने बित्तिकै बोतलमा झुमिरहेको तथा तासमा रमाइरहेको पुरुष यता आफ्नो तिघ्रा ठटाउँदै भन्न थाल्छ– ‘आइमाईको शत्रु आइमाई’ ।

बेमेल र झैझगडा त पुरुषका बीचमा पनि नहुने होइन । सरसर्ती हेर्दा देउरानी–जेठानीका तुलनामा पनि दाजु–भाइका बीचमा विवाद एवं झगडा कमै परेजस्तो देखिन्छ । तर जब अंशबन्डाको स्थिति आउँछ, दाजु–भाइ एकआपसमा मिल्न नसकेर अड्डा–अदालत धाएको दृश्य हाम्रै समाजमा प्रशस्तै देख्न पाइन्छ ।

आफ्ना बाजे–बराजुले पेटभरि नखाई, घुँडा टालेको सुरुवाल लगाएर जोगाइदिएको सम्पत्तिसमेत बाँडेर खान नसकी अड्डा–अदालतको ढोका ढकढक्याउन जाने पुरुषहरूले कुन मुखले भन्छन् होला– ‘आइमाईको शत्रु आइमाई’ भनेर । यसरी एउटै लाम्टो चुसेका दाजु–भाइमाझ समझदारी गर्न नसकेर शत्रुतापूर्ण व्यवहार गरेको देखिन्छ भने भिन्न वर्ग, हैसियत, परिवेश एवं मानसिकता भएका परिवारबाट जम्मा हुनपुगेका महिलामाझ सामान्य विवाद हुनुलाई स्वाभाविक रूपमा नलिएर एउटा पुरुष भन्न थाल्छ– ‘आइमाईको शत्रु आइमाई’ ।

अर्काेतिर आइमाईको शत्रु आइमाई देख्ने पुरुषले आफ्नी जन्मदातृ आमा बिरामी हुँदा आफू स्याहार्न अघि सर्दैन, आमाको शत्रुका रूपमा व्याख्या गरिएकी त्यही बुहारीलाई आमा जिम्मा लगाएर ऊ निर्धक्कसँग पन्छिन खोज्छ । अझ कुनै आमा गम्भीर एवं दीर्घरोगी भएको कतिपय अवस्थामा छोरोभन्दा प्रतिभाशाली, योग्य एवं बढी आम्दानी भएकी बुहारीलाई सासूको सेवा गर्नकै लागि जागिर छोड्न बाध्य बनाइएको कतिपय सन्दर्भ हामीले देखेसुनेकै हो ।

बिरामी स्याहार्दा हैरान भएकी पत्नीले आमाका बारे सामान्य गुनासो गर्दा पनि ‘आइमाईको शत्रु आइमाई’ नै देख्ने पुरुषलाई आफ्नी आमा बुहारीको जिम्मामा निर्धक्क छोड्न कुन नैतिकताले दिन्छ ? के त्यतिखेर आमालाई शत्रुकै रूपमा रहेकी अर्की आइमाईले जेसुकै गरोस् भनेर हिँडेको हो त ऊ ? हाम्रो सामाजिक व्यवस्थाले छोरा र छोरी, छोरा र बुहारीका बीचमा असमान व्यवहार गर्न–गराउन पनि महिलालाई नै सक्रिय गराएको स्थिति छर्लङ्ग छ । यसले गर्दा पनि महिला नै महिलाको विरोधीजस्तो देखिन पुगेको मात्र हो, अन्यथा घरभित्रका श्रमको समान वितरण हुन्थ्यो भने परिस्थिति पृथक् देखिन सक्थ्यो ।

यसरी नारीहरूकै कारणले नारीहरूले अधिकार र स्वतन्त्रता नपाएको पुष्टि गर्न हाम्रा शिक्षित एवं बौद्धिक भनिएका दाजुभाइ पनि उक्त टिप्पणी गर्न खुबै सक्रिय देखिन्छन् । पितृसत्तात्मक सङ्कीर्ण सोचाइले महिलालाई होच्याउने अभीष्टले यस्ता टिप्पणी सिर्जना गरेको अनुमान गर्न सकिन्छ ।

लामो समयदेखि थोपरिएको पितृसत्तात्मक हैकमवादी मानसिकताले महिलालाई सहनशीलताको उपमा दिँदै ‘सहनु नै ठूलो धर्म हो’ भनेर कमजोर बनाउन गरिएको प्रयास पनि लामो समयसम्म सफल भएकै हो । यसले गर्दा पुरुष वर्गले उद्दण्डताका साथ नाजायज काम र व्यवहार गर्न छुट लिइरहेको छ । यी विविध कारणले गर्दा घरेलु कार्य व्यवस्थापनमा पुरुष वर्गलाई सहभागी गराउनेतर्फ महिलाको सजगता नदेखिएको हुन सक्छ ।

कोही–कोही शिक्षित एवं चेतनशील महिलाले पुरुष वर्गलाई घरभित्रको श्रममा संलग्न गराउन खोज्दा परिवार नै तहसनहस भएको स्थिति पनि प्रशस्त देखिएको छ । यसले गर्दा कहिल्यै नटुङ्गिने घरायसी श्रमको बोझ नारीहरूलाई एक्लै बोक्न बाध्य बनाइएको छ । अनि अहिलेका पढेलेखेका शिक्षित एवं बौद्धिक भनिने पुरुष पनि सदियौँदेखि प्राप्त ठालु पल्टेर खान पाइने सुविधालाई सजिलै त्याग्न तयार छैनन् ।

त्यसैले पनि उसको मानसिकताले महिला–महिलामाझको सम्बन्धलाई सौहार्दपूर्ण हुन दिइरहेको छैन । त्यसैले यस्ता झमेलामा फँस्न नचाहेरै बेला–बेला यस्तै अनर्गल टिप्पणी गरेर पुरुष सरक्क पन्छिदिन्छ— ‘आइमाईको शत्रु आइमाई’ । कान्तिपुरबाट