संस्कृति जोगाउन खोटाङमा तीज महोत्सवको तयारी

खोटाङ / खोटाङमा लोपोन्मुख मौलिक संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी हुने भएको छ ।  तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै गएको बिभिन्न मौलिक बाजागाजा, गीत तथा नृत्यको प्रर्दशनी गर्ने तयारी गरेको हो ।

लोक संस्कृतिको संरक्षण, संर्बद्धन तथा प्रबद्र्दन गर्दै भावी पूस्तालाई त्यसको महत्व बुझाउन ‘तीज महोत्सव’ को रुपमा  प्रर्दशनीको तयारी गरिएको आयोजकले जनाएको छ ।

आगामी भदौ २५ गतेदेखी २७ गतेसम्म आयोजना हुने तीज महोत्सवमा मारुनी, संगीनी लगायतको नृत्य प्रर्दशनी गर्ने तयारी गरिएको समाजको अध्यक्ष अनिल आचार्यले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा लोपोन्मुख मौलिक संस्कृति झल्कने पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रर्दशनीका साथै लोक दोहोरी गीत प्रतियोगिताको समेत आयोजना गर्ने अध्यक्ष आचार्यको भनाई छ ।

जिल्लाभरी रहेका उक्त लोक बाजागाजा, मौलिक संस्कृति झल्कने गीतसंगीत तथा नृत्य समुहलाई समाबेश गराउने तयारी रहेको बताइएको छ ।

तीज महोत्सवमा बिशेषगरी जिल्लाभरका महिलाहरुलाई समाबेश गराउने गरी ‘खोटाङ जिल्ला दिक्तेल बजार, संस्कृतिलाई जोगाउँ हजुर’ बोलमा लोकदोहोरी प्रतियोगिता हुने कार्यक्रमको तय गरिएको छ ।

प्रतियोगितमा प्रथम हुने समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो हुने समुहले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।