इलामका चिया मजदूर आन्दोलित, यस्ता छन् माग

इलाम / प्रदेश नम्बर १ का किसानको प्रमुख आयश्रोत रुपमा रहेको चिया क्षेत्रमा काम गर्ने मजदूर आन्दोलित भएका छन् । श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको तलब सुविधा कार्यान्वयन गर्नुपर्ने माग गर्दै चिया मजदुर आन्दोलित भएका हुन् ।

चिया उद्योगी र बगान संचालकले श्रम ऐनमा तोकिएको तलब र सामाजिक सुरक्षा ऐनमा भएको सुविधा मजदूरलाई नदिएको भन्दै चिया खेती उद्गमस्थल इलामबाट मजदूरले आन्दोलन शुरु गरेको हुन् । चिया क्षेत्रमा संस्थागत रुपमा सक्रिय रहेका अखिल नेपाल चिया मजदुर संघ, नेपाल कृषि तथा बजान क्षेत्र श्रमिक संघ र नेपाल चिया बगान श्रमीक संघ आवद्ध मजदूरले संयुक्त रुपमा आन्दोलन शुरु गरेको अखिल नेपाल चिया मजदुर संघका केन्द्रिय उपाध्यक्ष उमेश रेग्मीले बताए ।

आन्दोलनको पहिलो चरणमा बिहिबार इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा चिया मजदूरहरुले र्याली र कोणसभा सम्पन्न गरेका हुन् । कोणसभामा बोन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का संयोजक भुपाल सापकोटाले सरकारले ल्याएको कानुन कार्यान्वयनमा उद्योगी र बगान संचालक नलागे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए ।

इलाम जिल्लामा रहेको चिया बगान र उद्योगमा काम गर्ने एक हजार बढी मजदुर सहभागि रहेको कोणसभामा नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ सदस्य सन्तकुमार राई, श्रमीक संघका प्रतिनिधि मेघ बहादुर निरौला, अखिल नेपाल चिया मजदुर संघको केन्द्रिय उपाध्यक्ष उमेश रेग्मी र नेपाल कम्युनिष्ट पार्टीको सूर्योदय नगरपालिकाका बरिष्ठ सदस्य प्रविन तिमसिनाले चिया मजदूरको माग तुरुन्त सम्बोधन गर्नुपर्ने बताए ।

सरकारले श्रम ऐन २०७४ मा अन्य उद्योगको भन्दा चिया क्षेत्रमा काम गर्ने मजदुरको तलब कम तोकेको भन्दै आफुहरुको ज्याला समायोजनको माग समेत गरेका छन् । सरकारले चिया बगान तथा उद्योगमा काम गर्ने मजदुरका लागि १० हजार ७ सय ८१ रुपैयाँ तलब भक्ता साउन १ गतेदेखि लागु हुनेगरि तोकेपनि कार्यान्वयनमा नआएपछि मजदूरको आन्दोलित भएका हुन् ।

नेपालको १४ जिल्लामा व्यवसायिक खेती हुने चियामा ९ हजार २ सय ३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरु आवद्ध रहेका मध्ये ९ हजार १ सयले व्यक्तिगत रुपमा र एक सय ८ संस्थाहरु संस्थागत रुपमा चिया उत्पादन गर्दै आएका छन् । १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती हुन्छ भने नेपालमा कुल ११ हजार ४१ वटा बगानहरु रहेको छन् । चिया क्षेत्रमा ५० हजार बढी मजदूरहरु काम गर्दै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क छ ।

चिया खेती गर्ने किसानमध्ये ५९ प्रतिशत कृषकहरु पराम्परागत ३० प्रतिशत कृषक तथा व्यवसायीहरु प्रारङ्गारिक उन्मुख र ११ प्रतिशतले पूर्ण प्रारङगारिक उत्पादन गर्दै १८ हजार १ सय ८० जना किसान व्यसायिक रुपमा लागको तथ्याङ्क छ । जसमध्ये ९ हजार ३ सय ७४ जना पुरुष र ८ हजार ८ सय ७ जना महिला आवद्ध कृषकले नै वार्षिक १ अर्ब ७४ करोड रुपैंया आम्दानी गर्दै आएका छन् ।

नेपालमा वार्षिक दुई करोड २२ लाख मेट्रिकटन चिया उत्पादन हुने गरेको तथ्याङ्क छ । चिया खेतीको बारेमा पहिलो पटक केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय योजना आयोग, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा गरेको सर्वेक्षणले नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने देखाएको छ । नेपालमा सिटिसी, अर्थोडक्स र ग्रीन टी गरी तीन प्रकारका चिया उत्पादन हुने गरेका छन् ।

सिटिसीको उत्पादन लागि आवश्यक हरियो पत्ति झापा जिल्लामा मात्रै उत्पादन हुन्छ भने अर्थोडक्स चिया पहाडी जिल्लामा उत्पादन हुँदै आएको छ । कुल उत्पादनको ४५ प्रतिशत सिटिसि चिया नेपालमा खपत हुने गरेको छ भने ५५ प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने अर्थोडक्स र ग्रीन टि भने तेस्रो मुलक यूरोप र अमेरिकी मुलुकमा निर्यात हुने गरेको छ । लोकल सन्देशबाट