विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा

विर्तामोड / विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ ।

शुक्रबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले खुल्ला दिसामुक्त घोषणाको प्रतिक हरियो झण्डा फहराएर नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे ।

विर्तामोड नगरपालिका आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको हो ।
यो नगरपालिकामा १७ हजार ८ सय ९४ घरधुरी रहेका छन् । घोषणा सभा अघि बाजागाजा सहितको ¥याली विर्तामोड चोकदेखि शुरु भई अग्रसेन भवनमा पुगेर सभामा परिणत भएको थियो ।

घोषणा सभामा विर्तामोड नगरप्रमुख ध्र्रुवकुमार शिवाकोटीले पूर्ण सरसफाई बाचन गरेका थिए भने जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल र कार्यक्रमका प्र्रमुख अतिथि कार्कीले खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरेका थिए ।

घोषणा सभामा प्रमुख अतिथी कार्कीले वातावरण स्वच्छ राख्दै सरसफाई प्रवर्धन गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको सुझाउँदै विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुनु स्वागतयोग्य काम भएको बताए ।

घोषणा सभामा प्रदेशसभा सदस्य जसमाया गजमेर, नगरपालिकाका उपमेयर पवित्रा महतरा प्रसाईलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जय तिम्सिनाले गरेका थिए ।

घोषणा सभामा अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

१५ वटा स्थानीय तह रहेको झापामा शुद्धशान्ति, बाह्रदशी, कमल र गौरीगञ्ज गाँउपालिका तथा शिवसताक्षी, कनकाई र अर्जुनधारा नगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भईसकेका छन् ।