व्यवसायीको हितमा काम गर्ने अपेक्षा सहित सुनचाँदी व्यवसायीलाई सम्मान

झिलझिले /  नेपाल सुनचाँदी व्यवसायी संघ जिल्ला कार्यसमिति झापालाई व्यवसायीको हितमा काम गरोस् भन्दै शनिबार झिलझिलेमा सम्मान गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघको शाखा शिवसताक्षी नगरले एक कार्यक्रमको आयोजना गरी भदौ ७ गते निर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो ।

संघको झिलझिलेस्थित कार्यलयमा शाखा सताक्षीधामका पदाधिकारीले जिल्ला कार्यसमितिलाई मायाको चिनोसहित खादा पर्हियाएर सम्मान गरेको हो ।

नवनिर्वाचित कार्यसमिति व्यवसायीको हितमा रहेर काम गर्ने उत्प्रेरणा होस् भन्ने हेतुले जिल्ला कार्यसमितिलाई सम्मान गरेको नेपाल सुनचाँदी व्यवसायी संघका शिवसताक्षी नगर अध्यक्ष मोहन सेन्च्युरीले जानकारी दिए । जिल्लामा नयाँ नेतृत्व चयन भएपछि समितिका पदाधिकारीलाई सम्मान गरेको यो जिल्लामा पहिलो हो ।

शाखा अध्यक्ष सेन्च्युरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष रुपदल विश्वकर्मा, वरिष्ठ सदस्य रमेश बराइली, वरिष्ठ उपाध्यक्ष राजकुमार गुप्ता, द्धितिय उपाध्यक्ष रमेश पोर्तेल, तृतीय उपाध्यक्ष तुलसी विमली, महासचिव राजन कालिकोटे, कोषाध्यक्ष विजय श्राप र सहसचिव वृहस्पति पाण्डेलाई सम्मान गरिएको हो ।

संघ शिवसताक्षी नगरका अध्यक्ष सेन्च्युरी, वरिष्ठ उपाध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष तेजबहादुर लाम्गादे, सल्लाहकार समितिका टेकबहादुर सेन्च्युरी, व्यवसायी रोमन लाम्गादेलगायतले चाडपर्वका बेला पनि मागबमोजिमको सुन उपभोक्तालाई उपलब्ध गराउन नसक्नुले पेशाप्रतिनै लज्जाबोध भएको गुनासो गरे । नेपाल सुनचाँदी व्यवसायी संघ श्विसताक्षीका उपाध्यक्ष तेजबहादुर लामगादेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिशंकर सिलवालले गरेका थिए ।