‘करका विषयमा विपक्षीले अनावश्यक प्रचार गरेर भ्रम सृजना गरे’–सभाषद् प्रधान अभियान नेपालको १५ औं वार्षिक साधारणसभा

शालबारी झापा / प्रदेश सभासद् विर्खबहादुर प्रधानले करका विषयमा विपक्षीले अनावश्यक प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

आज झापाको अर्जुनधारा ११ स्थित शालबारी शहिदपार्कमा आयोजित अभियान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभाषद् प्रधानले त्यस्तो आरोप लगाएका हुन ।

विपक्षी भनेर नेपाली कांग्रेसतर्फ संकेत गरेपनि सभाषद् प्रधानले पार्टीको नाम भने लिएनन् ।

‘समृद्दी नचाहने तत्वहरु बहाना झिकेर सरकारका सबै तहमा आक्रमण गर्न लागि परेका छन’ उनले भने– ‘विपक्षीहरु पनि त धेरै स्थानीय निकायका प्रमुख छन् त, के उनीहरुले चाँही कर लगाएका छैनन् ?’ त्यसैले करका विषयमा अनावश्यक बहाना झिक्नुको साटो विपक्षीलाई समृद्धीको अभियानमा सामेल हुन उनले आग्रह गरे ।

सामाजिक क्षेत्रमा अभियान नेपालले पुर्याएको योगदानको चर्चा गर्दै सभाषद् प्रधानले सरकारले लिएको समृद्धीको अभियानमा सहयोग गर्न आग्रह गरे । अभियान नेपाल ग्रामिण क्षेत्रका जनतासँग जोडिएको संस्था भएको बताउँदै प्रधानले घरेलु हिँसा, महिलामाथि हुने यौनजन्य दुव्यवहार नियन्त्रणका क्षेत्रमा काम गर्न सुझाव दिए ।

साधारणसभामा अर्जुनधाराका नगरप्रमुख हरीकुमार रानाले कतिपय गैह्सरकारी संस्थाहरुले काम गर्नुको साटो सरकार र जनताको आँखामा छारो हाल्दै डलर पचाउने काम मात्र गरेकोले सरकारले एन्जीओको बारेमा छानविन गर्न लागेको बताए ।

नगर प्रमुख रानाले गैह्सरकारी संस्थाहरुले निहित स्वार्थमा लागेर काम गरेका कारण सरकारले गतिविधी नियाल्न खोजेको हो राम्रो काम गर्ने संस्थाहरुलाई नडराउन आग्रह गरे ।

खुदुनाबारीमा अभियान नेपालले धेरै काम गरेको भएपनि अर्जुनधारा क्षेत्रमा अब आँखाले देख्ने गरी काम गर्न संस्थालाई सुझाव दिए ।
अर्जुनधारा नगरउपप्रमुख कमला आचार्यले अभियान नेपाल बालदुव्र्यवहार र महिला हिँसा नियन्त्रणको क्षेत्रमा काम गरे अभियान नेपालसँग साझेदारी गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताइन ।

कार्यक्रममा गैरसरकारीसंस्था महासंघका प्रदेश १ उपाध्यक्ष हरीप्रसाद गौतमले सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण गर्न खोजेको बताउँदै पारदर्शी काम गर्ने संस्थाहरुलाई पनि एउटै डालामा राखेर हेर्न नहुने धारणा राखे ।

कार्यक्रममा संस्थाले स्थापना गरेको राजन ढकाल स्मृती पुरस्कारबाट गतवर्ष कक्षा ८ को श्रोतकेन्द्र स्तरीय परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने जनता माध्यमिक विद्यालय खुदुनाबारीका विद्यार्थी मनिल घिमिरेलाई पुरस्कृत गरिएको थियो । उनलाई प्रदेश सभाषद् विर्ख प्रधानले नगद २ हजार र प्रसंशा पत्र प्रदान गरेका थिए ।

अभियान नेपालका अध्यक्ष पूर्व सांसद् प्रेम गिरीको अध्यक्षतामा आयोजित साधारणसभामा अर्जुनधारा ११ का वडाध्यक्ष भैरव खड्का, अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनाललगायतले शुभकामना दिएका थिए।

संविधानसभाका पूर्व साँसद् गिरीले अभियान नेपाल विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा विकास भएको जानकारी दिए । गैरसरकारी संस्थाको विकृती हटाउँदै राज्यलाई बलियो बनाउने दिशामा अभियान नेपालले काम गरिरहेको उनले बताए ।

साधारणसभाले विधान संशोधन, विनियम संशोधनलगायत महत्वपूर्ण निर्णय गर्ने गिरीले जानकारी दिए ।

संस्थाले आगामी कार्ययोजनाको रुपमा दिगो नमुनाबस्ती विकास गर्ने, नगरपालिका सँगको सहकार्यमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहन गर्न प्रतिभा प्रोत्साहन कोष स्थापना गर्ने, रबर खेतीमा कृषकको आकर्षण बृद्धी गर्न रबरखेती सम्बन्धी तालिम, रोपण प्रबद्र्धन क्षेत्र, औधोगिकरण क्षेत्र र बजारीकरणको क्षेत्रमा कार्य गर्ने, फोहरमैला व्यवस्थापन, बाँसमा आधारित उद्यम लगायतका क्षेत्रमा कार्य गर्ने लक्ष्य लिएको अध्यक्ष गिरीले जानकारी दिए ।

अभियान नेपालले हाल झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा बाढी प्रभावितका लागि प्रतिकार्य तथा पुर्नलाभ, महिला शसक्तिकरण, छाना पयिोजना, एसएलभिसी, फोहरमैला व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।