डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं / पछिल्ला दिनमा अमेरिकी डलरले नयाँ रेकर्ड तोड्दै गएको छ। सोमबार ११३ रुपैयाँ २९ पैसा बिक्री मूल्य रहेको अमेरिकी डलरको मूल्य एकैदिन ९५ पैसाले बढेर मंगलबार ११४ रुपैयाँ २४ पैसा पुगेको हो। मंगलबार बिक्रीका लागि तोकिएको मूल्य नेपालको इतिहासमै उच्च हो।

दिन प्रतिदिन अमेरिकी डलरको मूल्य बढ्दै जानुको कारण मागअनुसार आपूर्ति हुन नसक्नु रहेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए। ‘विदेशी बजारमा भएको मागअनुसार डलरको आपूर्ति हुन नसक्दा डलर महँगिएको हो’, उनले भने। अन्तर्राष्ट्रिय बजारको ट्रेन हेर्दा मूल्य अझ माथि जाने सम्भावना छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन मजबुत बन्दै जाने अनुमान राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले गत साता मंगलबार प्रति अमेरिकी डलर १११ रुपैयाँ ८७ पैसा बिक्री मूल्य तोकेको थियो। एक साताको अन्तरालमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई रुपैयाँ ३७ पैसाले अबमूल्यन भएको छ।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै जानु, अमेरिकी डलरमा आम मानिसको विश्वास बढ्दै जानु, अमेरिकाबाट बाहिरिएको लगानी फर्कनु, व्यापारिक क्रान्ति तथा ट्याक्स रिफर्मका कारण बजारमा अमेरिकी डलरको माग बढी छ’, कार्यकारी निर्देशक ढुंगानाले भने।

यसका साथै अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो। भारतीय रिजर्भ बैंक (आरबीआई)ले मंगलबारका लागि सटही दर एक डलर बराबर ७१ रुपैयाँ ३७ पैसा भारु तोकेको छ। स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुँदाको मार नेपाली रुपैयाँमा पर्ने गरेको ढुंगानाले बताए। नेपाली र भारतीय मुद्राबीचको स्थायी विनिमय दरले भारतीय रुपैयाँ डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो।

नेपाली मुद्रा दुई कारणले अधिमूल्यन तथा अवमूल्यन हुने गरेको छ। युरोपियन देशको अर्थतन्त्र र मुद्राको तुलनामा अमेरिकी मुद्रा र अर्थतन्त्र अधिक बलियो बनेको कारण विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढेको हो।’

डलर मजबुत भएपछि यसको असर आयातित वस्तुको बजार मूल्यमा पर्ने पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए। डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर देखिने उनले सुझाए। ‘डलर महँगो हुँदा यसको चाप वस्तुको मूल्यमा पर्ने अर्थात मूल्यवृद्धि हुने सम्भावना हुन्छ’, उनले भने, ‘विदेशबाट भित्रिने विप्रेषण र पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्नेछ।’

भारतीय रुपैयाँसँग भएको स्थिर विनिमयले अमेरिकी डलरसँग भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने र भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि अधिमूल्यन हुने सुवेदीले बताए। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढ्छ। यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ। महँगो डलरले अझ व्यापार घाटा बढ्न योगदान गर्छ।

डलरको मूल्य बढ्दै गए पनि चालू आवको साउनमा मात्रै एक खर्ब १३ अर्बको व्यापार घाटा भएको छ। साउनमा एक खर्ब २० अर्ब ६१ रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको छ भने ६ अर्ब ९२ करोड मूल्य बराबरको सामान नेपालबाट बाहिरिएको छ।

गत आवको यो महिनामा एक सय रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य पछिल्लो समय मजबुत भएपछि बजार भाउ बढेको छ। एक वर्षपछि डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा छ। डलर महँगो हुँदा यसको असर निर्माण सामग्रीमा समेत पर्ने हुँदा परियोजना लागत बढ्ने देखिएको छ। विदेशबाट कच्चापदार्थ आयात गरी उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन्छ। यसका साथै राज्यले विदेशी विकास साझेदारसँग लिएको ऋणको भार थपिन्छ।

२०७४ असारमसान्तको तुलनामा २०७५ असारअन्त्यमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ पाँच दशमलव नौ प्रतिशतले अबमूल्यन भएको छ। अघिल्लो असारमा १०२ रुपैयाँ ८६ पैसा रहेको विनिमय दर गत असारमा १०९ रुपैयाँ ३४ पैसा पुगेको थियो। अन्नपूर्णपोष्ट