‘समाजबाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न सहकारी बलियो हुनुपर्छ’-केशव बडाल

विर्तामोड/  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले समाजबाद उन्मुख अर्थव्यवस्था निर्माण गर्नलाई सहकारी बलियो हुनुपर्ने बताएका छन् ।

शुक्रबार विर्तामोडमा आयोजित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिको छैठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष बडालले भने– ‘सहकारी बलियो नभई समाजबादमा पुग्ने त कुरै छोड्दिउ समाजबादको ‘स’ पनि टेक्न भ्याइदैन ।’ त्यति महत्वपूर्ण छ सहकारी ।

‘समाजबाद उन्मुख अर्थव्यवस्था भनेको अनेकता बिचको एकतालाई बलियो बनाउने । आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय क्षेत्रका सबै विभेदलाई समाप्त गर्ने र समतामूलक समाज निर्माण गर्ने हो’ बडालले भने ।

सबैको निम्ती लोकतन्त्र हुनका निम्ती आर्थिक, सामाजिक साँस्कृतिक र वातावरणीय क्षेत्रमा लोकतन्त्र हुन जरुरी छ प्रमुख अतिथी बडालले भने त्यसै अनुरुप बर्तमान संविधानको धारा ५१ र ५२ ले तीनखम्बे अर्थनीति अगाडी सारेको छ ।

समृद्ध नेपाल निर्माण गर्न सहकारी, राज्य एक्लै र नीजी क्षेत्रले मात्रै पनि सक्दैन । त्यसैले सहकारीको भूमिका महत्वपूर्ण छ ।

सहकारीका बारेमा संविधानले ठिकै गरे पनि ऐनमा कतिपय कुरा नमिलेका कारण समस्या भएको बडालले बताए । ऐनमा भएका कमीलाई सच्याउन सबैले खबरदारी गर्न जरुरी छ ।

सहकारीको करका विषयमा अर्थमन्त्रीले एउटा कर सम्बन्धि कार्यदल बनाएर निश्चित मापदण्ड तोक्नु भएको छ त्यो चाडै सार्वजनिक हुने उनले जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले राज्यले तोकेको तीनखम्बे अर्थ नीतिलाई कार्यान्वयन गर्न सहकारीहरु लाग्नु पर्ने धारणा व्यक्त गरे । सहकारी बैंकका अध्यक्ष पोखरेलले अब सहकारीले संकलित पुजीलाई उत्पादनमा कसरी लाने, विदेशिएको युवा जनशक्तिलाई स्वदेशमै कसरी रोक्ने भनेर सोेच्नुपर्ने बेला आएको बताए ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जिल्ला सहकारी संघ सहकारीको संस्थागत विकासमा के गर्न सकिन्छ भनेर योजना निर्माण गरिरहेको जानकारी दिए । उनले सहकारीले उत्पादनमुखी बन्न शेयर सदस्यलाई त्यसतर्फ जागरुक गराउनुपर्नेमा जोड दिए ।

साधारणसभाको उद्घाटन सत्रमा जिल्ला बचतसंघका अध्यक्ष घनश्याम अधिकारी, विर्तामोड नयरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलगायतले शुभकामना दिंदै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा गरेको उल्लेख्य प्रगतिको प्रशंसा गरेका थिए ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उत्कृष्ट नागरिकको रुपमा र सहकारी क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै मेची सहकारी संस्थाका व्यवस्थापक खोमप्रसाद बगाले थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बडाल र विशेष अतिथी पोखरेलले नगद ५ हजार एकसय, सम्मानपत्र र दोसल्ला ओडाएर दुबैलाई सम्मानित गरेका थिए ।

त्यसैगरी, संस्थाले विर्तामोड, सुरुङ्गा र राजगढका बाल बचतकर्ताको रुपमा प्रसिद्धि श्रेष्ठ, आइसा शाह र पूजा राजवंशीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

साथै सहकारीले उत्कृष्ट बचतकर्ताहरु थीलबहादुर कार्की, कमलप्रसाद अधिकारी, सावित्रीदेवी राजवंशी र उत्कृष्ट ऋणीको रुपमा विर्तामोडका पुष्प भण्डारी, सुरुङ्गाका दुर्गाप्रसाद नेपाल र राजगढकी राधा उप्रेतीलाई सम्मान गर्यो ।

विश्वेश्वरप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पृथ्वी ओलीले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्षले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।