तीजमा जेष्ठ माताहरु सम्मानित

भद्रपुर / भद्रपुर नगरपालिकाले नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर दशजना ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।

तीजको अवसर पारेर स्थानीय सिटी गार्डनमा शुक्रबार आयोजना गरिएको सन्देशमूलक एवम् साँस्कृतिक संगीतमय समारोहका बीच भद्रपुरका सबै वडाका एक–एक जना ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा वडा नं १ बाट खरमाया दाहाल, २ बाट जेठीमाया तामाङ, ३ बाट दुर्गा कट्टेल, ४ बाट एकाकुमारी पोखरेल, ५ बाट मत्छ्यरुपा वस्नेत, ६ बाट मनसोना घोष, ७ बाट दुन्दो राजवंशी, ८ बाट नैनकला सिम्खडा, ९ बाट कालो राजवंशी र वडा नं १० बाट सावित्रा वि.क. रहेका छन् । सम्मानित माताहरु ८० वर्ष नाघेकाहरु थिए ।

उनीहरुलाई समारोहका प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका थिए ।

सो तीज विशेष कार्यक्रमकी संयोजक नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा भद्रपुरका पन्ध्रसय बढी महिला सहभागी थिए ।

केही दिनअघिदेखि नेपाली कांग्रेसनिकट नेपाल महिला संघ भद्रपुरले बिरोध जनाउँदै आएको र कार्यक्रमका दिन केही युवाहरुले विरोधस्वरुप अर्धनग्न प्रदर्शन गरे पनि कार्यक्रममा सबैखाले आस्था, विचार, समुदाय र सम्प्रदायका महिलाहरुको उल्लेख्य सहभागिता रहेको संयोजक श्रेष्ठले बताइन् ।

नगरपालिकाको सामाजिक विकास समितिकी संयोजक मित्रा भट्टराई र आशिका तिम्सिनाले सञ्चालन र वडा नं ३ की वडाध्यक्ष कमला थुलुङले स्वागत गरेको समारोहमा मानव बेचबिखन तथा महिला हिंसाविरुद्धको चेतनामूलक नाटक प्रस्तुत गरिनुका साथै सहभागी महिला तथा बालबालिकाहरुले तीजका गीतहरुमा नाचेर र गाएर आफ्नो प्रतिभा देखाएका थिए ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था चन्द्रगढीका तर्फबाट संगिनी प्रस्तुत गरिएको थियो भने रुक्मिणी ढकालले सन्देशमूलक कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मीना पराजुलीको विशेष उपस्थिति रहेको थियो भने झापाका प्रहरी उपरीक्षक भीम ढकालको पनि उपस्थिति रहेको थियो ।