खानेपानीका लागि योजना बनाउँदै मन्त्रालय

विर्तामोड / खानेपानी मन्त्री बिना मगरले तराईका जनतालाई सहज ढंगले प्रशोधित खानेपानी पुर्याउन दीर्घकालिन योजना निर्माणमा मन्त्रालय अगाडीबढिरहेको बताएकी छन् ।

शुक्रबार यहाँ आयोजित विर्तामोड साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको नवनिर्मित योजना समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन ।

खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न मन्त्रालयले ठूला आयोजनाको प्रारम्भिक चरणको डीपीआर तयार गरिसकेको मन्त्री मगरले जानकारी दिइन ।

प्रारम्भिक चरणको डिपीआर तयार भइसकेको छ मन्त्री मगरले भनिन् हामीले महाकाली,कर्णाली,भेरी बबई, नारायणीहुँदै यहाँ आएपछि मेची र कन्काई नदीको सम्भावना पनि हेरेका छौं । ताकी मेचीदेखि महाकालीसम्मका जनताले हिमनदीबाट आउने स्वच्छ पानी खान पाउन ।

खानेपानीको समस्या बढ्दै गएपछि हामीले दुईवटा उद्देश्यले व्लक वाटरको रुपमा सम्भावनाको अध्ययन गरिरहेका छौं प्रमुख अतिथी मन्त्री मगरले भनिन् कुन नदीबाट ल्याएको पानी कम लागतमा सम्पन्न गरी उपभोक्तासम्म पुर्याउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।

सम्पूर्ण तराइका जनतालाई खानेपानी पुर्याउन मन्त्रालय आठवटा ब्लकवाटर निर्माणको तयारीमा छ मन्त्री मगरले भनिन् ताकि पछि जमिनको पानी अभाव हुँदा पिउन अयोग्य हुँदा वितरण गर्न सकियोस् । हिमनदीबाट आएको पानी लाई अन्तराष्टियकरण गर्न सकिने सम्भावना रहेको उनले बताइन् ।

हाम्रो पानीलाई पाइपलाइनबाट सीमाक्षेत्रसम्म पुर्याएर भारतमा बिक्री गर्न सकिने उनको भनाइ थियो । सरकारले कृषीमा जस्तै खानेपानीमा पनि उपभोक्तालाई सकिन्छ भने पूर्णरुपमा निशुल्क गराउन सरकारलाई झकझकाउने आश्वासन दिइन ।

विर्तामोडको उपभोक्ता समितिले अघि बढाएको योजनालाई सहयोग गर्न सक्दो पहल गर्ने पनि कार्यक्रममा जानकारी दिइन ।

कार्यक्रममा विशिष्ट अतिथी क्षेत्र नं २ की सभाषद् पवित्रा निरौला खरेलले विर्तामोड खानेपानी उपभोक्ता सस्थाले नागरिकलाई स्वच्छ खानेपानी खुवाउन पहल गरिरहेको भएपनि त्यो पर्याप्त नभएको बताइन । विर्तामोड देशकै पूर्वी ढोका भएकोले यस्लाई सुन्दर र स्वच्छ बनाउन खानेपानी मन्त्रालयले आवश्यक सहयोग गरिदिन आग्रह गरिन ।

कार्यक्रममा प्रदेश सभाषद् एकराज कार्कीले विर्तामोड तीनवटा गाविस मिलेर नगरपालिका भएकोले जनघनत्वका आधारमा अझैपनि पानीको आपुर्ती गर्न नसकिएको बताए । खानेपानी वितरणको योजनालाई व्यापक बनाउन सक्दो सहयोग गरिदिन मन्त्रालयलाई आग्रह गरे ।

कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले विर्तामोडमा खानेपानीको सहज आपूर्ती हुन नसकेको जानकारी गराए ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव मेघराज बाँस्तोलाले गरेका थिए । यसैबिच खानेपानी मन्त्री मगरले बसपार्कमा निर्मित टेंकी नं २ उपकरणको उद्घाटन समेत गरेकी थिइन् ।

विर्तामोड साना शहरी खानेपानी तथा उपभोक्ता संस्थालाई उपकरण जडान गर्नका लागि खानेपानी मन्त्रालयले ४७ लाख रुपैया उपलव्ध गराएको कार्यक्रममा जानकारी गराइयो ।

संस्थाले हाल ४ लाख ५० हजार लिटर क्षमताका तीनवटा ओभरलोड टेंकी र एउटा डीप बोरिङमार्फत विर्तामोडका ६ हजारभन्दा बढी उपभोक्तालाई पानीको आपुर्ती गर्देै आएको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।