भद्रपुर नगरपालिकाका मेयरले भने ! ‘मिडियामा जसरी आयो त्यस्तो होइन’

भद्रपुर / नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले तीजमा महिलाहरुलाई दर खुवाउन २ लाख रुपैयाँ विनियोजन गरिएको भन्ने कुरा सत्य नभएको स्पष्ट पारेका छन् ।

केही दिनअघिदेखि नै चर्चामा रहेको सो कार्यक्रमका लागि नगरपालिकाले ६५ हजार रुपैयाँ मात्र विनियोजन गरेको प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रम शुरु हुनअघिदेख नै कार्यक्रमको विरोध गर्दै नगरपालिकाको मूल गेटअगाडि अद्र्धनग्न प्रदर्शन गरिरहेका युवाका प्रतिनिधिमण्डलसँगको वार्तामा नगरप्रमुख श्रेष्ठले सो कार्यक्रमका लागि ६५ हजार रुपैयाँ मात्र विनियोजन गरिएको स्पष्ट पारे ।

‘यो कार्यक्रमका बारे मिडियामा जसरी आयो, त्यस्तो केही होइन’, नगरप्रमुख श्रेष्ठले भने– ‘नगरका अधिकतम महिलाको सहभागिता होस् भनेर सामाजिक सञ्जालहरुमार्फत कार्यक्रम बारे सार्वजनिक गरिएको थियो ।

तीजलाई एउटा अवसर मात्र बनाइएको हो । आममहिलाको हितका लागि । समाजमा बढिरहेको महिला हिंसाविरुद्ध सचेतना जगाउनका लागि । नगरका महिलाहरुको प्रतिभा प्रष्फुटनका लागि, नगरको खुला दिसामुक्त अभियानलाई सफल बनाउनका लागि ।

बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउन, नगरका ज्येष्ठ माताहरुको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको हो, दर खुवाउनका लागि मात्र होइन ।’

नगरपालिकामा भएको अनौपचारिक सो वार्तामा युवाहरुका गुनासा सुन्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कहिल्यै पनि एउटा जाति विशेषको मात्र कार्यक्रम नगरेको बताए ।

उनले नगरपालिकाले नगरभित्रका विभिन्न जातजाति, भाषा–सम्प्रदाय, धर्म–संस्कृतिको जगेर्ना गर्ने नीति अनुसार विभिन्न शीर्षकमा बजेट छुट्याई कार्यक्रम गर्दै आइरहेको बताउँदै उनले युवाहरुलाई आश्वस्त पार्दै भने–’आगामी दिनमा तपार्इंहरुसँगको सहकार्यमै यस्ता कार्यक्रम, युवालक्षित कार्यक्रम आयोजना गरिने छ ।’

नगरप्रमुखका कुरामा सहमत भएपछि युवाहरु फर्किएका थिए । उनीहरुले एकघण्टाजति प्रदर्शन गरेका थिए ।