हलवाई समाजले मनायो बाबा गणिनाथको जन्मोत्सव

विर्तामोड / हलवाई समाजले आफ्नो कुलदेवता श्री श्री १००८ बाबा गणिनाथ गोविन्दजीको जन्मोत्सव धुमधामसाथ मनाएको छ ।

हलवाई समाज विर्तामोडले आज एक कार्यक्रमको आयोजना गरी बाबा गणिनाथको जन्मोत्सव एवम् पूजनेत्सव मनाएको हो ।

हलवाई समाजमा बाबा गणिनाथ गोविन्दलाई आफ्नो कुलदेवताको रुपमा पुजा अर्चना गर्ने गरिन्छ ।

गाणिनाथको जन्मोत्सवका अवसरमा समाजले विर्तामोडको अग्रसेन भवनदेखि शान्ति कलश शोभा यात्राको आयोजना गरेको थियो । शोभायात्राले विर्तामोड चोक परिक्रमा गरी पुनः अग्रसेनभवन पुगेर मञ्चीय कार्यक्रम गरेको थियो ।

हलवाइ समाज झापाका अध्यक्ष कपिलदेव शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी समाजका केन्द्रीय अध्यक्ष शिवनारायण शाहले सामाजिक एकता फुटाउन केही पक्षहरु लागि परेको बताउँदै त्यसलाई रोक्न हलवाई समाज एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

हलवाई समाज परापूर्वकालदेखि मिठाई जस्ता परिकार बनाउँदै आएको बताउँदै आफ्नो पहिचान नभूल्न उनले सबैलाई आग्रह गरे ।

कार्यक्रममा छैट सेवा समाजका देवेन्द्र सिंह, समाजका पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, घनश्याम चौधरी, केन्द्रीय सल्लाहकार भरत शाह, गंगाप्रसाद शाहलगायतले बाबा गणिनाथको जन्मोत्सवको शुभकामना दिएका थिए । कार्यक्रम महेश शाहले सञ्चालन गरेका थिए ।

कृष्णजन्माष्टमी पछि आउने पहिलो शनिबार बाबा गणिनाथ गोविन्दको जन्मोत्सव मनाउने गरिन्छ । बाबा गणिनाथ भारतको पल्वैयामा जन्मेका हुन् ।

गणिनाथको जन्मोत्सव झापा, मोरङ, सुनसरीहुँदै तराइको जिल्ला रुपन्देहीसम्म एकैदिन मनाउने गरिन्छ । गणिनाथको जन्मोत्सवमा हलवाई महिलाहरु ब्रतबस्ने गर्दछन भने पुजारीले कुलपूजा गर्दछन् ।

तथ्याङ्क अनुसार नेपालका १३ वटा जातीका घरमा बाबा गणिनाथलाई कुलदेवताको रुपमा पूजा गर्ने गरिन्छ । १३ वटा जातीमा हलवाई, मैथिलीब्राम्हण, महतो, कोडी, तेली, सोनार लगायत पर्दछन् ।

हलवाइ जातीले हिन्दु धर्म परम्परालाई मान्ने गर्दछन् । जनगणना अनुसार नेपालमा कुल जनसंस्याको ०.३० प्रतिशत हलवाई समुदाय रहेका छन ।