हल्दिबारीका वडाध्यक्षले गरे मोटरसाइकल गाँउपालिकालाई फिर्ता, मासिक तलव सामाजिक क्षेत्रमा

हल्दिवारी झापा / हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गर्नुका साथै मासिक तलब सामाजिक कार्यमा लगानी गरेका छन् ।

पाँचवडा वडा रहेको हल्दिवारी गाउँपालिकामा कांग्रेसबाट जनप्रतिनिधिका रुपमा निर्वाचित एकमात्र वडाध्यक्ष होम चुडालले राज्यले दिएको सुविधा शनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गरेका हुन् ।

चुडालले आफ्नै वडामा आयोजित कार्यक्रममा राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ नम्बरको अपाचे मोटरसाइकलको चावी हल्दिवारी गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

१ नम्बर प्रदेशका सांसद ओम सरावगीको प्रमुख आतिथ्यतामा भएको सुविधा फिर्ता कार्यक्रममा गाउँपालिकाका तर्फबाट उपस्थित कर्मचारी प्रतिनिधि वडासचिव बिशाल काफ्लेलाई वडाध्यक्ष चुडालले मोटर साइकलको चावी बुझाएका हुन ।

उनले गाउँपालिकाबाट प्राप्त एकवर्षको तलब विभिन्न सामाजिक संघसंस्थालाई हस्तान्तरण गरे ।

एकवर्षमा प्राप्त लगभग दुईलाख २० हजार रकमबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय दिपेन्द्र प्राविमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २७५ जना विद्यार्थीका लागि स्कूल व्याग, महेन्द्र माविमा सञ्चालित मिदास इ–क्लास सफ्टवेयरसहित एकलाख २४ हजार तीनसय ७५ रुपैयाँ, स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार, पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

मोटरसाइकल हस्तान्तरण गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष चुडालले जनप्रतिनिधि भएर जनताले नै तिरेको करबाट सेवा सुविधा लिनु उपयुक्त नहुने आफूलाई महसुस भएपछि सुविधा फिर्ता गरेको बताए ।

पैसा हुनेले मात्र कर तिर्ने मान्यता अनुसार आफ्नो वडामा पञ्जिका सम्बन्धी सबै सिफारिस तथा दर्ता निश्चित समयावधिसम्म निःशुल्क गरिएको वडाध्यक्ष चुडालले बताए ।

सेवा सुविधा हस्तान्तरणपछि बोल्दै अध्यक्ष चुडालले आफूले पाउने तलब आफ्नो कार्यकालभरी विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने संकल्पका साथ सेवा सुविधा फिर्ता गरेको उल्लेख गरे ।

नेपाली कांग्रेस जलथल गाउँ समिति सभापति दिलीप मावोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेवतीरमण नेपालले गरेका थिए भने धन्यवाद ज्ञापन तुलसी ओलीले गरेका थिए ।