भद्रपुर नगरपालिकाले गर्यो शिक्षकलाई सम्मान, विद्यार्थीलाई पुरस्कृत

गंगा बराल-
भद्रपुर / भद्रपुर नगरपालिकाको शिक्षा शाखाले भद्रपुर क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याएका शिक्षक–शिक्षिकालाई सम्मान र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

३९ औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार नगरपालिकाको सभाहलमा आयाजना गरिएको समारोहमा सेवा निवृत्त ३८ जना शिक्षक–शिक्षिकालाई सम्मान र ११ जना विद्यार्थीलाई छात्रबृत्तिद्वारा पुरस्कृत गरिएको हो ।

नगर बाल सञ्जालका अध्यक्ष सुशील खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवा निबृत्त शिक्षकहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।

शैक्षिक स्रोत केन्द्र भद्रपुरका योगेन्द्र पौडेलले सञ्चालन र स्रोत व्यक्ति प्रेम भुजेलले स्वागत गरेको कार्यक्रममा एसईई परीक्षमा सुामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्राहरु वीरेन्द्र माविकी आशा हेमरम र अपेक्षा बराल र छात्र हिमाली माविका भूमिकुमार ढकाल, संस्थागत विद्यालयतर्फ छात्राहरु विभूति विद्या मन्दिरकी क्रिस्चिना रेग्मी, प्रज्ञा एकाडेमीकी मायक लिम्बू र छात्रतर्फ विभूति विद्या मन्दिरका तितिक्षु अधिकारीलाई १५ सय नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

यसैगरी कक्षा ८ को परीक्ष्षमा उत्कृष्ट अंक ल्याउने सामदायिक विद्यालयतर्फ पुहाँतु जनज्योति माविकी छात्रा कविता नेपाल र सोही विद्यालयका छात्र अभिकेशर घिमिरे, संस्थागत विद्यालयतर्फ विभूति विद्या मन्दिरकी छात्रा एलिजा भट्टराई छात्रहरु विभूति विद्या मन्दिरका विवेक शर्मा र हिमालय माविका निर्देश निरौलालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, सम्मानित शिक्षकहरुको तर्फबाट सेवा निवृत्त शिक्षक तथा भद्रपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष दशरथ प्रधान, शैक्षिक तालिम केन्द्र भद्रपुरका प्रमुख तुलसीनारायण अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।