शेयरसदस्यको आत्महत्यामा संस्थाको संलग्नता छैन : कर्णाली सहकारी

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो शेयर सदस्य बालकुमारी हुमागाँइको अस्वभाविक निधनले संस्था स्तब्ध र मर्माहत भएको जनाएको छ ।

झापाको गौरादह नगरपालिका ७ की शेयर सदस्य हुमागाँइले गत मंगलबार आत्महत्या गरेकी थिइन ।

कर्णाली सञ्चालक समितिले आइतबार प्रेस विज्ञप्ति निकालेर हमागाँइको निधनले संस्थालाई गहिरो चोट पुगेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

हुमागाँइले गत मंगलबार गरेको आत्महत्याको विषयलाई लिएर स्थानीय एक पत्रिकामा कर्णाली सहकारीको नाम जोडिएर समाचार प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

                                                                     विज्ञप्ती



शेयर सदस्यको मृत्यु हुनु दुखद भएको भन्दै कर्णालीले त्यस घटनामा संस्थाले सञ्चालन गरेको लघुबित्त कार्यक्रम जोडिनु गलत भएको जनाएको छ ।

कर्णाली सहकारीले सञ्चालन गरेको बित्तिय कारोबार ‘लघुबीत्तको दवाबले आत्महत्या’ शिर्षकमा एक पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

कर्णालीले सो घटनामा संस्थाको संलग्नता नभएको जनाउँदै स्थानीय समाजसेवी, बुद्धीजीवि, राजनीतिकर्मी, वित्तिय संघ संस्था तथा छरछिमेकमा संयम अपनाई घटनाको वास्तविकता छानवीन र अध्ययन गर्न आग्रह गरेको छ ।

विज्ञप्तीमा कर्णालीले भनेको छ ‘उक्त घटनामा कुनै पनि वितीय कारोबार गर्ने संस्थाको नाम जोडिएर आउनु वित्तीय क्षेत्रकै लागि ठूलो क्षति र घाटा हो ।

वित्तीय संस्थाहरुले ऋण लगानी गर्नु, बचत संकलन गर्नु ऋणको किस्ता असुली गर्नु नियमित प्रकृया र सर्वमान्य सिद्धान्त नै भएको व्यवहोरा अवगत गराउन चाहन्छौं ।

यो नियम र प्रकृयामा संस्थाका कर्मचारी किस्ता लिन जानु र किस्ता लिएको भोलीपल्ट सदस्यको मृत्यु हुनु संयोग मात्र भएको संस्थाको ठहर छ ।’

संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा र सदस्यको स्वास्थ्य, शिक्षा जस्ता मौलिक अधिकार उपभोगमा निर्वाध सहयोग गरिरहेको पनि जनाएको छ ।

२६ हजारबढी सदस्यलाई सेवा दिइरहेको १८ वर्ष पुरानो संस्थाको इतिहासमा यस्ता घटना कहिल्यै नभएको र यस्ता घटना हुन नदिन संस्था सचेत रहेको विज्ञप्तीमा जनाइएको छ ।