आज दर खाने दिन : के के खाइन्छ दरमा ?

काठमाडौं / सनातन हिन्दु नारीहरू महान चाड तीजमा मंगलबार राति दर खाएर बुधबार ब्रत बस्ने गर्दछन् ।

अघिल्लो दिन दर खाने र भोलीपल्ट व्रत बस्ने पुरानो परम्परा हिन्दु नारीहरुमा यथावत छ । भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने गरिन्छ ।

विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर बस्ने गर्दछन् भने अविवाहित युवतीहरूले सुयोग्य पतिको कामना गरी पानी पनि नखाई तीजको व्रत बस्छन् ।

नेपाली संस्कृतिमा तीजमा खाइने दरलाई विशेष महत्त्व का साथ हेरिन्छ । दर भन्नेबित्तिकै माइत गएर आमाले बनाएको खानेकुरा खाने भन्ने मान्यता छ ।

तर पछिल्लो समय शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज तीज आउन महिना दिन बाँकी रहँदादेखि समूह बनाएर दर खाने चलन बढेको छ ।

दर भन्ने वित्तिकै दुधबाट बनेको परिकार खीर, घीउ र दुधमा पकाइने ढकने जस्ता परिकारलाई बुझाउछ । तर, पछिल्लो समय दरमा पाक्ने परिकारहरु फरक फरक हुन थालेका छन् ।

दर खाने प्रचलन महिना दिन अघिदेखि नै बढेकाले मासु, भात खीर मिठाई, पुलाउजस्ता परिकारहरु खाने खुवाउने गरिन्छ ।

तीजमा हिन्दु नारीहरु माइत गएर मिठा मिठा परिकार बनाई खाने, ब्रत बस्ने र नाचगान गरि रमाइलो गर्ने गर्दछन् ।
तीजमा आफ्ना छोरीचेलीलाई माइते पक्षले बोलाउने र लिन जाने चलन छ । तर, पछिल्लो पटक सञ्चार क्षेत्रमा सबैको पहँच बढेका कारण लिन जाने चलन केही कम भएको छ ।

फेसबुक, भाइबर र मोबाइलबाटै चेलीबेटीलाई दर खान बोलाउने गरिन्छ । र चेलीबेटीहरु पनि माइत आउने गर्दछन् ।

तीज आउनु महिना दिन देखिनै दरखाने रमाइलो गर्ने परिपाटी नारीहरुका लागि रमाइलो गर्ने अवसर भएपनि कतिपय जानकारहरु यस्लाई विकृतीको रुपमा पनि हेर्ने गर्दछन् ।