क्यान महासंघ झापाको साधारणसभा सम्पन्न

समाचार सूचना प्रबिधि स्थानीय

विर्तामोड / कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार विर्तामोडमा क्यान झापाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सचिवले पेश गरेको प्रगति प्रतिवेदन , कोषाध्यको प्रतिवेदन र ०७५/०७६ को अनुमानित आयव्यय विवरण पास गरेको छ ।

क्यान महासंघ झापाका अध्यक्ष लक्ष्मीकान्त खनालको सभापतित्वमा आयोजित साधारणसभाको क्यान महासंघ प्रदेश नं १ का अध्यक्ष देव सुव्वाले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सुव्वाले क्यान महासंघ झापाले धेरै उदाहरणीय कार्य गरेको बताउँदै झापाबाट अन्य शाखाले धेरै कुरा सिक्नुपर्ने औंल्याए ।

संस्थाका सचिव रोशन दाहालले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार गोपाल काफ्ले, आइटी क्षेत्रका भूपेन्द्र मैनालीलगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीकान्त खनालले क्यान महासंघले विभिन्न विद्यालय तथा क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम, विभिन्न क्याम्पसका कक्षा १२ का विद्यार्थीको सहभागितामा ह्याप्पी कोडिङ् कम्पिटिसन, आइटी बुट क्याम्प, आइसीटी डेजस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

क्यान महासंघ झापाले १५ वटै स्थानीय निकाय र झापाको ५० वटा विद्यालयमा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम र आइटी क्षेत्रका विद्यार्थीको क्षमता अभिवृद्धी, क्यान इन्फोटेक मेला जस्ता विभिन्न कार्य गर्ने लक्ष्य राखेको पनि जानकारी दिए ।