मानव वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा भरत

भद्रपुर / आगामी तीनवर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्दै झापाको विर्तामोडस्थित मानव वचत तथा ऋण सहकारी संस्थाको दशौं साधारणसभा सम्पन्न गरेको छ ।

विर्तामोडस्थित मारवाडी सेवा समितिको सभाहलमा शनिबार आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि विकास केन्द्र नेपालका अध्यक्ष लोकबहादुर माझीले गरेका थिए ।

संस्थाका सञ्चालक कुलदीप गिरीले सञ्चालन र सदस्य कृष्णमाया चौधरीले स्वागत गरेको सभामा अध्यक्ष भरत कुसुवारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४० लाख पुगेको छ भने आ. व. ०७४÷०७५ असार मसान्तसम्ममा ९० लाख रुपैयाँ निक्षेप संकलन र १ करोड ५० लाख रुपैयाँ ऋण लगानी भएको छ ।

भरत कुसुवार दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभाको बन्दसत्रले सर्वसम्मत चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा गुणनाथ पौडेल, सचिवमा नारायण पौडेल र कोषाध्यक्षमा ममता घिमिरे चयन भएका छन् ।

शान्ता राई, कुलदीप गिरी, कमल नेम्वाङ, कृष्णमाया चौधरी, शोभा दाहाल, फडेन्द्रमाया गजमेर र टिकादेवी प्रसाईं सदस्यमा चयन भएका छन् ।