झापा गाउँपालिका खुला दिसामुक्त घोषणा

झापा /  झापा गाउँपालिका झापा जिल्लाको नवौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त घोषणा भएको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरियो झन्डा अनावरण गर्दै झापा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरे ।

ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमको सहयोगमा साविक शरणाामतीमा सहारा नेपाल र साविक कुमरखोद तथा टाघनडुब्बामा सगरमाथा सामुदायिक विकास केन्द्रले खुला दिसामुक्त अभियान सहजीकरण गरेका थिए ।

७ हजार २ सय २९ घरधुरी रहेको झापा गाउँपालिकामा खुला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ३ हजार ४ सय ४६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो भने ३ हजार ७ सय ८३ घरधुरीमा अभियानका क्रममा नयाँ सुरक्षित चर्पी बनाइएको हो ।

झापा गाउँपालिकामा चर्पी निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी, अभियान नेपाल र एसएनजेडीलगायतका संस्थाहरुले विपत उत्थानशील कार्यक्रम एवम् पुनर्लाभ कार्यक्रमअन्तर्गत सहयोग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले साबुन पानीले हात धुनुका साथै गमलामा जल सिंचन गरेर कार्यक्रमको उद्घाटन गरे । भौतिक विकासलाई मात्र विकास ठान्ने प्रवृत्ति अन्त्य गर्दै मानवीय, सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा रुपान्तरण र समुन्नति आवश्यक भएको उनले बताए ।

ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले खुला दिसामुक्त अवस्थाको दिगोपन र पूर्ण सरसफाइ प्रवद्र्धनका लागि पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरी अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सबैको सामुहिक प्रयासबाट नै गाउँपालिका खुला दिसामुक्त अवस्थामा पुगेको बताए ।

कार्यक्रमका अध्यक्ष एवम् झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले खुला दिसामुक्त अभियानको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमका सहभागीलाई पूर्ण सरसफाइ प्रतिबद्धता गराएका थिए ।

गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले स्वागत गरेको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष नेत्र खड्का, नेकपाका गजेन्द्र चाम्लिङ, नेपाली कांग्रेसका शुभ कँडेल, राजपाका विश्वराज राजवंशी लगायतले सरसफाइ अभियानको दिगोपनका बारेमा बोलेका थिए ।

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय तथा अभियानकर्तालाई गाउँपालिकाले स्वागत गरेको सो कार्यक्रममा कलाकारले विभिन्न सांस्कृतिक झाँकी र सरसफाइ गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए