ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको कारोबार सुरु

लक्ष्मीपुर झापा / बैदेशिक रोजगारमा यूएई गएका युवाहरुको लगानीमा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोरको बुधबार उद्घाटन गरिएको छ । उद्घाटनपछि डिर्पाटमेन्टल स्टोर्सले विधिवत रुपमा उपभोक्तालाई सामान विक्री वितरण गर्न सुरु गरेको छ ।

ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनीद्वारा झापाको अर्जुनधारा ५ लक्ष्मीपुरमा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको प्रदेश सभाषद् एकराज कार्कीले एक समारोह बिच उद्घाटन गरका हुन ।

डिर्पाटमेन्टल स्टोर्सको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सभाषद् कार्कीले ४०/५० डिग्रीको तापक्रममा विदेशमा काम गरेर बचाएको थोरै रकमले डिर्पाटमेन्टल स्टोर्स खोल्नु युवाहरुको सराहनीय कार्य भएको बताए ।

प्रमुख अतिथि कार्कीले विदेशमा कमाएको पैसा स्वदेशका अन्य क्षेत्रमा समेत लगानी गर्न समुहलाई आग्रह गरे ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, कन्काई नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता खरेल, स्थानीय अभिभावक झरेन्द्र बराल, शिक्षक कृष्ण विमलीलगायतले व्यापारीक सफलताको शुभकामना दिएका थिए ।

झापाली एकता बचतकोष एवम् झापाली समाज यूएईका अध्यक्ष अशोक चापागाँइको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार लीला अनमोलले गरेकी थिइन ।

यूएईमा कार्यरत झापाली एकता बचतकोषमा आवद्ध झापाका युवाहरु सम्मिलित झापाली समाज यूएईका १९ जना सदस्यले सो डिर्पाटमेन्टल स्टोर्समा लगानी गरेको समाजका अध्यक्ष चापागाँइले जानकारी दिए ।

झापाली समाजमा आवद्ध १९ जना सदस्यको करिब ५० लाख रुपैयाँको लागतमा डिर्पाटमेन्टल स्टोर्स सञ्चालनमा आएको हो । सन् २०१७ मा यूएईमा झापाली एकता बचतकोष स्थापना गरेको सो समुहले २०१८ मा ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनी दर्ता गरि व्यवसायमा लगानी गर्न सुरु गरेको कम्पनीका अध्यक्ष चाागाँइले बताए ।

डिर्पाटमेन्टले ग्राहकको सुविधालाई ध्यानमा राखी दुईहजार रुपैया बराबरको सामान खरिदमा एउटा कुपन प्रदान गरी लक्की  ड्र मार्फत हुने विजेतालाई एउटा स्कुटर प्रदान गर्ने योजना रहेको जनाएको छ ।