हरियो पत्तीमा निजी उद्योगको एकाधिकार तोडिँदै

इलाम / स्थानीय सहकारीहरूले चिया उद्योगमा लगानी गर्न थालेपछि निजी उद्योगहरूको एकाधिकार तोडिँदै गएको छ । सहकारीहरूको चिया प्रशोधन उद्योग थपिँदै जाँदा चिया किसानहरूले प्रतिस्पर्धाका आधारमा हरियो पत्ती बिक्री गर्न पाएका छन् ।

केही वर्षअघिसम्म निजी उद्योगहरूले तोकेकै मूल्यमा हरियो पत्ती बेच्न किसान बाध्य थिए । २०६७ सालयता चिया उद्योगमा सहरकारीको लगानी बढ्न थालेको हो । यही सिजनमा पनि चारवटा नयाँ चिया उद्योगले प्रशोधन थाल्ने तयारी गरेका छन् । नयाँ बनेका सबै उद्योग सहकारीको लगानीमा खोलिएका हुन् ।

सहकारीको लगानीमा इलाममा मात्रै ११ वटा चिया प्रशोधन उद्योग स्थापना भएका छन् । ३० लाख रुपैयाँदेखि ७ करोडसम्मको लगानीमा सहकारीले चिया प्रशोधन उद्योग स्थापना गरिएको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रविन राईले बताए । सहकारीको लगानीमा ३१ वटा स्थापना भएका छन् ।

इलाममा एघार, पाँचथरमा चार, झापामा चार, धनकुटामा दुई, ताप्लेजुङमा एउटा, तेह्रथुम दुई, ललितपुरमा तीन, संखुवासभामा र उदयपुरमा एक÷एकवटा चिया उद्योग स्थापना भएको केन्द्रीय चिया चिया उत्पादक सहकारी संस्थाका महासचिव रवीन्द्र राईले बताए । नयाँपत्रिका