कन्काईमाई कोटीहोममा पितृमोक्ष महाअनुष्ठान हुने

सुरुङ्गा झापा / नेपालका धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसार गर्दै सनातन हिन्दु सम्प्रदायका पितृहरुको उद्धार गर्ने उद्येश्यले झापाको कन्काईमाई कोटीहोममा बृहत अनुष्ठान आयोजना हुने भएको छ ।

शुक्रबार कोटीहोम परिसरमा यज्ञ सम्पादन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यहि असोज ९ गतेदेखि २३ गतेसम्म १५ दिन पितृमोक्ष महाअनुष्ठान आयोजना गर्ने जानकारी गराइयो ।

विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन समितिको आयोजनामा सोह्श्राद्धलाई लक्षित गरी झापामा पहिलो पटक बृहत अनुष्ठान हुन लागेको हो । उक्त अनुष्ठानमा ३ करोड बात्ती बाल्नुका साथै १००८ पारायण, गरुढ पुराण, प्रेत कल्प, २१ आबृती महागरुण पुराण, १ आबृती भागवत पुराण बाचन गरिने विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवम् प्रमुख बाचक ईश्वरकृष्ण महाराज जीले जानकारी दिए ।

सम्पूर्ण हिन्दुहरुका पितृमोक्षका लागि सोह्श्राद्धमा उक्त अनुष्ठान गर्न लागिएको प्रमुख बाचक महाराज जीले बताए ।

पृत्यपक्ष सोह् श्राद्धमा पितृमोक्षका लागि समर्पित गर्दै पूर्वको धार्मिक पर्यटन प्रर्वर्धन गर्ने उद्येश्यले कन्काईमाईमा सो अनुष्ठान गर्न लागिएको महाराजले बताए ।

सोह् श्राद्धमा कन्काइधाम कोटीहोम झापा जाऔं, श्राद्ध तथा पितृमोक्ष महाअनुष्ठान गरौं भन्ने नाराकासाथ यज्ञको आयोजना गरिएको छ । अनुष्ठान सम्पन्न गर्न करिब ५० लाख रुपैंया लाग्ने बताइएको छ ।

आम्दानीको श्रोत श्राद्ध गर्न आउने श्रद्धालुभक्तजनले दिएको दान दातव्यबाट नै अनुष्ठानको खर्च जुटाउने महाराज जीले जानकारी दिए । कार्यक्रममा यज्ञ सम्पादन मुल समितिकी अध्यक्ष गीता निरौला भण्डारीले कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पारेकी थिइन भने समितिका सदस्य कोमलप्रसाद प्रसाइले स्वागत गरेका थिए ।

अनुष्ठान प्रचारप्रसार समितिका संयोजक नारायण पोखरेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

अनुष्ठान सम्पन्न भएपछि कन्काईमाई कोटीहोममा योगी नरहरी नाथको शालिक स्थापना गर्ने लक्ष्य रहेको पनि जानकारी दिइयो । अनुष्ठानमा ३१ जना ब्राम्हणले दैनिक यज्ञाहुती गर्ने छन् ।

कार्यक्रम सम्पन्न गर्न ५१ जनाको मूल समिति, ११ सय जनाको मूल समारोह समिति निर्माण गरिने बताइएको छ । विश्व जागरण महाअभियान ट्रष्टले यसअघि पहिलोवर्ष पशुपतिनाथ र दोस्रो वर्ष गोकर्णमा यस किसिमको महायज्ञ सम्पन्न गरिसकेको छ ।

झापामा गर्न लागिएको यो तेस्रो अनुष्ठान हो । अनुष्ठानमा नेपालभरबाट भक्तजनहरु आउने र कन्काईमाईको धार्मिक पर्यटनमा टेवापुग्ने आयोजकले विश्वास लिएको छ ।

अनुष्ठानबाट बचेको रकम ट्रष्टमा जम्मा गर्ने र विसुद्ध धार्मिक टेलिभिजन सञ्चालन गर्ने आयोजकको योजना छ ।