शिक्षा विधेयक संशोधनको माग गर्दै एन–प्याब्सनले बुझायो ध्यानाकर्षण पत्र

विर्तामोड / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शिक्षा विधेयक संशोधनको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ का केही प्रावधानहरुप्रति यस सगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै एन–प्याब्सन  झापाका अध्यक्ष सञ्जिव राई नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

टोलीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्षण पत्र पठाएको हो । टोलीमा एन प्याब्सनका केन्द्रीय सदस्यद्वय दिलिप अधिकारी, धर्मराज माझी, जिल्ला कोषाध्यक्ष सागर गुरुब, सदस्यहरु मोहन आचार्य, दिपबहादुर श्रेष्ठ, भगिरथ राईलगायत संस्थापक प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

एन प्याब्सनले देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी शुक्रबार बुझाएको शिक्षा विधेयकका ११ वटा बुँदा संशोधनको मागसहितको ध्यानाकर्षण पत्रमा केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपानेको हस्ताक्षर रहेको छ ।

हालै सब्घीय व्यवस्थापिका संसदबाट पारित अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुले यस सब्गठनको गम्भीर ध्यानाकर्षण भएको र सो ऐनका सम्बन्धमा बनेका प्रावधान मध्ये ११ वटा बुँदामा असहमति रहेको झापा अध्यक्ष राईले जानकारी दिए ।

उनले ती असहमतिका बुँदाहरु सच्याउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाइएको बताए । आफूहरुका मागहरु सम्बोधन नभए सगठन चरणबद्ध संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने एन–प्याब्सनले जनाएको छ ।