सरकार र नेपाल स्वतन्त्र सवारी चालकबिच के के भो सहमति

काठमाण्डौं / आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ ।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम शुक्रबारदेखि फिर्ता भएको छ भने सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई रिहा गर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको तीन घण्टा लामो छलफलमा सरकारले चालकका माग पूरा गर्ने सहमति जनाएको हो । स्थानीय तहमा भएको सहमतिलाई केही घण्टामै अस्वीकार गर्दै हड्तालमा उत्रिएका चालकले सिंहदरबारमै सहमति चाहेका थिए ।

विहीबार जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिको मसी नसुक्दै सिंहदरबारमै सहमति गर्नुपर्ने भन्दै शुक्रबार समेत हड्ताल जारी राखेका थिए ।

बिहीबार राती नै वीरगञ्जबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक सब्घर्ष समितिका संयोजक वसन्त शर्मा, सह–संयोजक अर्जुन अधिकारीसहितको टोली काठमाडौँ गएको थियो ।

शुक्रबार बिहान ११ बजेदेखि चारजना सचिवसहित आन्दोलनरत पक्षसँग भएको छलफल साढे तीन बजे सहमतिमा टुंगिएको थियो ।

आन्दोलनरत पक्षले उठाएको मागलाई सम्बोधन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । ‘हामीले उहाँहरुले उठाएको माग सम्बोधन गर्न आवश्यक अध्ययन गर्ने प्रतिबद्धता जनाएका छौँ । उहाँहरुले हाम्रो प्रतिबद्धता अनुसार सवारी साधन सञ्चालन गर्न सहमत हुनुभएको छ,’ अधिकारीले भने ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए । हड्तालमा उत्रिएको स्वतन्त्र सवारी चालक सब्घर्ष समितिका सह– संयोजक अधिकारीले सरकारले आफ्ना माग पूरा गर्न सहमति जनाएकाले सवारी साधन सञ्चालनमा आएको बताए ।

‘सरकारले हाम्रा सबै माग सम्बोधन गर्ने सहमति जनाएको छ । यो सहमतिसँगै सवारी साधन सञ्चालनमा आएको हो,’ उनले भने ।