नेकपाको जिम्मेवारी बाँडफाँड सकियो, को को भए ? प्रदेश इन्चार्ज र अध्यक्ष

झापा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सह–इन्चार्ज र प्रदेश संगगठन कमिटीका अध्यक्ष र सचिव टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को प्रस्ताव अनुसार पार्टीको जिम्मेवारी तोकिएको हो ।

पार्टी सचिवालय सदस्य एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सह–इन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् ।

त्यसैगरी, प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सह–इन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन् ।

प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सह–इन्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुब र सह–इन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भएका छन् ।

त्यसैगरी, प्रदेश नं ५ को इन्चार्जको जिम्मा शंकर पोखरेलले र सह–इन्चार्ज दलबहादुर रानाले पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त भएका छन् ।

कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सह–इन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन भएका छन् ।

त्यसैगरी, प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल र सह–इन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएका छन् ।

गत जेठ ३ गते साविकको नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।