आदिवासी जनजाति विद्यार्थीले दिए क्याम्पसलाई अल्टिमेटम

दमक / दमक बहुमुखी क्याम्पसमा अध्यनरत आदिवासी जनजाति विद्यार्थीहरुले शुक्रवार दमक बुहमुखी क्याम्पस प्रशासनलाई अल्टिमेटमसहित ज्ञापन– पत्र बुझाएका छन् ।

आदिवासी जनजाति विद्यार्थीको संगठन आदिवासी विद्यार्थी महासंघ, किरात राई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बु विद्यार्थी मञ्चले संयुक्त ज्ञापन– पत्र बुझाएका हुन । विद्यार्थीको ज्ञापन पत्र क्याम्पस प्रमुख उत्तम भट्टराईले बुझे ।

ज्ञापनपत्रमा शैक्षिक अभिबृद्धि तथा व्यक्तित्व विकासका लागी क्याम्पसले गर्नुपर्ने कुनै पनि काम नगरेको उनीहरुले आरोप लगाएका छन् । बिगत १५ बर्ष अगाडी सेप परियोजना लगायतका कार्यक्रम अन्तर्गत आदिवासी जनजाति विद्यार्थीको शैक्षिक तथा ब्यक्तिगत अभिबृद्धिका लागी बनेको १० लाख बराबरको अक्षयकोषबाट अहिले सम्म कुनैपनि कार्यक्रम सञ्चालन नगरेको उनीहरुको आरोप छ ।

साथै क्याम्पस प्रशासनले आदिवासी जनजाति विद्यार्थीको हकमा वेवास्ता गर्दै केहिसाता अगाडी सम्पन्न सातौं क्याम्पससभामा जनजाति विद्यार्थीको क्षेत्रमा नगरेका कामलाई पनि गरेर भएको भन्दै त्यसप्रति प्रशासनको ध्यानर्कषण गरिएको उनीहरुले जनाएका छन् ।

उक्त गलत प्रतिवेदनको जिम्मेवारी क्याम्पस प्रमुखले लिनुपर्ने तथा सो अक्षय कोषको रकमको सम्पूर्ण जानकारीको माग गर्दै ४८ घण्टा भित्र जवाफ दिन माग गरिएको आन्दोलित संगठनको माग छ ।

माग ४८ घण्टा भित्रमा क्याम्पस प्रशासनबाट कुनै जवाफ नआएमा कडा आन्दोलनमा जाने किरात राई बिद्यार्थी संघ झापा जिल्ला अध्यक्ष सुजिर राईले बताए ।