यौन शोषणको घटनाले कंगना हैरान

बलिउडमा ‘क्विन’ भनेर चिनिएकी स्टार अभिनेत्री कंगना रनावतले करिअरको सुरुवाती दिनमा भएको यौन शोषणको घटनालाई अझै भुल्न नसकेको बताएकी छिन् । यौन दुव्र्यवहार गर्न खोज्ने उक्त व्यक्तिविरुद्ध प्रहरीमा समेत उजुरी दायर गरेको उनले बताइन् । तर, कंगनाले उक्त व्यक्तिको नाम भने खोल्न चाहिनन् ।

उनले यौनहिंसाको घटनालाई लुकाउनुको सट्टा महिलाहरूले यस विषयमा खुलेर प्रतिकार गर्नुपर्ने बताएकी छिन् । भारतमा हुने गरेका यौन शोषणका घटनालाई लिएर आफू चिन्तित भएको कंगना बताउँछिन् ।

हिमाञ्चल प्रदेशमा सन् १९८७ मा जन्मिएकी कंगना १६ वर्षकै उमेरमा दिल्ली आएकी थिइन् । उनले अस्मिता थिएटर ग्रुपमार्फत आफ्नो नाट्य यात्रा सुरु गरेकी थिइन् ।

सन् २००५ मा उनी बलिउडमा अवसर खोज्नका लागि मुम्बई आएकी थिइन् । केही समय मोडलिङ गरेपछि कंगनाले सन् २००६ मा ग्याङस्टार फिल्म खेलिन् । यस फिल्मबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । त्यसयता, कंगना बलिउडमा स्टारको छवि बनाउन सफल भएकी छिन् । नयाँपत्रिका