गोधुली युथ क्लब धाइजन क्वाटर फाइनलमा

शान्तिनगर / गोधुली एफसी धाईजन झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

शनिबार सम्पन्न खेलमा कुटिडाँडा युवा क्लब इलामलाई २—० गोल अन्तरले हराउँदै धाइजन क्वाटर फाईनलमा प्रबेश गरेको हो ।

दुबै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । कुटिडाँडाले धाईजनलाई पहिलो हाफमा निकै टक्कर दिएपनि खेलको दोस्रो हाफमा डिफेन्सको कमजोरीका कारण कुटिडाँडा युवा क्लब प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो ।

धाईजनका लागि दोस्रो हाफको ४३ औ र ५९ औ मिनेटमा मनकुमार लिम्बुले २ गोल गरेका थिए । शनिबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका मनकुमार लिम्बु नै घोषित भए । उनलाई आयोजक समितिका सह–सचिब राजकुमार लावतीले नगद हस्तान्तरण गरेका थिए ।

आईतबारको खेल हर्कटे युवा क्लब इलाम र कालिस्थान युवा क्लबवीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ ।