प्रजापति वन समूहको ३२ औं साधारणसभा 

सुरुङ्गा / कनकाई नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहको ३२ औं साधारणसभा सम्पन्न भएको छ ।

२०५२ साल माघ २४ मा स्थापित ४१७.११ हेक्टर क्षेत्र ओगटेको सो वन समूहमा ६ सय घरधुरी आबद्ध रहेका छन् ।

कार्यक्रममा अध्यक्षता गरिरहेका वन समूहका अध्यक्ष सूर्यकुमार थापाले आ.व. २०७४÷०७५ को समिक्षा र आ.व. २०७५÷०७६ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय प्रस्तुत गरेका थिए ।
अध्यक्ष थापाले आ.व. २०७५/०७६ मा आयतर्फ काठदाउरा, छेकल विक्री लगायत अन्य शीर्षकबाट ९० लाख ९८ हजार २ सय ५८ रुपैयाँ ५० पैसा हुने र व्ययतर्फ पनि त्यति नै रकम हुने गरी आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

जसअनुसार खर्चतर्फ वन विकासतर्फ २२ लाख ७६ हजार ५ सय, गरीबी न्यूनीकरण र सामाजिक विकासतर्फ ४५ लाख १ हजार ५ सय ५८, प्रशासनिक खर्चतर्फ १० लाख ४० हजार २ सय र अन्यखर्चतर्फ १२ लाख ८० हजार विनियोजन गरिएको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक लक्ष्मीप्रसाद अधिकारीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनहरु आवश्यक सुझावसहित साधारणसभाको बन्दसत्रले पारित गरेको अध्यक्ष थापाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका  कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालको संविधान २०७२ अनुसार वनहरु स्थानीय तहको मातहतमा आउनुपर्ने र वन समूहहरु वनसंरक्षण तथा भू–संरक्षणमा लाग्नुपर्ने बताए ।

नगरप्रमुख पोखरेलले नगरपालिका वन उपभोक्ता समूहहरुसँग मिलेर साझेदारीमा काम गर्न तयार रहेको स्पष्ट पारे ।

पोखरेलले कनकाई नगरले पर्यापर्यटनको विकासका लागि १ अर्ब ६१ करोड रकम आवश्यक पर्ने गरी वृहत् दीर्घकालीन गुरुयोजना तयार
गरी त्यसको विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेको जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सदस्य हंशलाल राजवंशीले जनसंघर्षको वीचबाट आएको वर्तमान सरकार पनि सामुदायिक वनतर्फ गिद्धेनजर लगाइरहेको बताए ।

राजवंशीले सामुदायिक वनको अभियानलाई निस्तेज पार्ने गरी वैज्ञानिक वन व्यवस्थापनको नाममा नेपाल सरकार वन उपभोक्ताको हकअधिकार खोस्न लागेको आरोप लगाए ।

विशेष अतिथि सामुदायिक वन उपभोक्ता महासंघ कनकाई नगर अध्यक्ष दधिराम पोखरेलले वन समूहमा आबद्ध उपभोक्तामाथि स्थानीय सरकारले लगाउने तयारी गरेको कर वर्तमान नीतिनियम विपरित रहेकाले नगरपालिका तथा गाउँपालिकाले वन समूहसँग साझेदारीमा
विकास निर्माणका कामहरु गर्ने उत्तम विकल्प रहेको बताए ।

पशुपति प्राविका अध्यक्ष रामकुमार पोखरेल, प्रधानाध्यापक गोविन्द चौहान, दहीझोडा वन समूहका अध्यक्ष खगेन्द्र सुब्बा, सुन्दरकाली मन्दिर समितिका अध्यक्ष हरिनारायण अधिकारी, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, सचिव मान्ता खरेल, सुकेडाँगी वन समूहकी सचिव उर्मिला चापागाईं, दुर्गापुर–दानाबारी बाटो निर्माण समितिका अध्यक्ष डिल्लीरमण भट्टराई लगायतको आतिथ्य रहेको
थियो ।

कार्यक्रममा प्रजापति सामाजिक क्लबका अध्यक्ष दीपेश रिमाल, कनकाई नगरपालिका वार्ड नं. १ का कार्यवाहक अध्यक्ष देवीप्रसाद अधिकारी, जामुनाबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला, सब–डिभिजन कार्यालय सुरुङ्गाका फरेस्टर कुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वन समूहका उपाध्यक्ष मातृका अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मेनुका श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।